मावि तुलसीपुर सेन्टर देशमै उत्कृष्ट भएपछि खुशियाली

दाङ ।  दाङको तुलसीपुरमा रहेको   माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सामुदायिक विद्यालय तर्फ देशमै उत्कृष्ट भएको अवसरमा ऱ्याली निकालेको छ । विद्यालयले सोमबार मदन आश्रित चोकदेखि विरेन्द्र चोक हुँदै  बजार परिक्रमा गरी ऱ्याली निकालेको हो ।

सामुदायिक विद्यालयतर्फ  देशभरमा उत्कृष्ट नतिजा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा दिवसको अवसरमा नगद तीन लाख रकमसहित मेडल, प्रमाणपत्र, सिल्ड, ध्वजासहित सम्मान गर्नुभएको थियो । समग्र दाङ तथा शिक्षा क्षेत्रको गौरवको विषय रहेकाले ऱ्याली निकालेर गरी खुशी मनाएको  विद्यालयले जनाएको छ ।

उक्त ऱ्यालीमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरू, विभिन्न जातजातिको पहिरनमा सजिएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू,  शिक्षक, शिक्षिका, अभिभावक बाजागाजासहित सहभागी भएका थिए ।  ऱ्याली पश्चात विद्यालयमा एक औपचारिक  कार्यक्रम मार्फत कार्यक्रमबारे जानकारी गराइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखन्तराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडलले कार्यक्रमबारे जानकारी गराए । उनले विद्यालय यो स्थानसम्म पुग्नुमा सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सबैको साथ रहेको बताउँदै धन्यवाद ज्ञापन गरे । 

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस