जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न शिक्षकलाई मेयर खड्काको निर्देशन

दाङ । तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्काले शिक्षकलाई जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न निर्देशन दिए । शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासका लागि गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो निर्देशन दिए । सामुदायिक शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा नगरेका कारण विद्यार्थी सङ्ख्या घटेको भन्दै जागिरे मानसिकताबाट माथि उठेर पठनपाठनमा लाग्न सुझाव दिए । सामुदायिक विद्यालयमा राम्रो पढाई नहुँदा अभिभावकले महँगो शुल्क तिरेर छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएको भन्दै उनले त्यस्ता कमजोरी आगामी दिनमा नदोहोर्‍याउन आग्रह गरे ।

‘तपाईँहरूले मेहनतका साथ नपढाउँदा अभिभावक महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन्,’ उनले भने,‘ सरकारी शिक्षकका लागि योभन्दा लाजमर्दो कुरा के हुन्छ रु’ रिजल्ट राम्रो दिन नसक्ने शिक्षकलाई कुनै न कुनै प्रकारको नसियत दिइने उनले चेतावनी दिए । शिक्षा आयोग पास गर्न नसकेका शिक्षकले निजी विद्यालयमा पढाउँदा रिजल्ट राम्रो आउने तर आयोग पास गरेका शिक्षकले पढाउँदा रिजल्ट राम्रो नहुनु दुःखद भएको भन्दै उनले पठनपाठनमा लापरवाही गर्ने शिक्षक देश निर्माणका बाधक मानिने बताए ।

सरकारी विद्यालयका शिक्षकले छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेको पाइएको भन्दै उनले आगामी शैक्षिक सत्र देखी तुलसीपुर उपमहानगरका कुनै पनि सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने बताए ।  ‘ तपाईले सरकारी स्कुलमा पढाउने । अनि छोराछोरी निजी विद्यालयमा पढाउनुहुन्छ भने त्यो तपाईँको आफैँ प्रतिको अविश्वास हो,’ उनले भने ,‘मावि  सेन्टरबाट यसको सुरुवात  गरिसकेकाछौँ । आगामी वर्षदेखि यहाँका सबै शिक्षकले छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्छ ।’ उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयलाई तीन श्रेणीमा विभाजन गरी शिक्षकको पेशागत विकासका लागि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस