संस्कार जोगाउन गुरुकुल एकेडेमीद्वारा सांस्कृतिक पोशाक प्रयोग

दाङ । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरु बाट सांस्कृतिक पोशाकसहित विद्यालयको पठनपाठन सञ्चालन गरेको छ । गुरुकुल एकेडेमी घोराही लमही र तुलसीपुरले सम्पूर्ण जातजातिका सांस्कृतिक पोशाकसहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय सञ्चालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले विगत २ वर्षदेखि सांस्कृतिक पोशाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै आएको छ । 

शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी भन्ने मूल नारालाई आत्मसात गर्दै गुरुकुल एकेडेमीले नियमित रुपमा सबै जातजातिका पोशाक झल्काउँदै यो कार्यक्रम गर्दै आइरहेको छ । हरेक महिनाको पहिलो दिन विद्यार्थी तथा शिक्षकले आफ्नो जातीय पोशाक पहिरिने गरेका छन् । यो कार्यक्रमले सम्पूर्ण विद्यार्थीहरू माझ आफ्नो जातीय पोशाक कुन हो, कसरी प्रयोग गर्ने भन्ने कुरा जानकारी पाउने र आफ्नो संस्कार जोगाउन सकिने भएका कारण कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भूगोल कँवर मगरले जानकारी दिए । 

कार्यक्रममा थारू, मगर, नेवार, गुरुङ, क्षेत्रीलगायतका पोशाकहरू लगाइएको थियो । यसै बिच गुरुकुल एकेडेमी घोराहीले नव नियुक्त शिक्षकहरूलाई स्वागत पनि गरेको थियो । नव नियुक्त संस्कार प्रमुख भूगोल कवर मगर, अंग्रेजी शिक्षक राजन अधिकारी, सामाजिक शिक्षक लालमणि पोख्रेल र सुनिता बमलाई स्वागत गरिएको विद्यालयका प्रवक्ता तथा शिक्षक विवेक देवकोटाले जानकारी दिए । 

विशेष गरी आज बैशाख ९ गते सांस्कृतिक दिव भएकोले गुरुकुल एकेडेमी लमहीले विद्यालय सञ्चालनको पहिलो वर्षको पहिलो दिन सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई सांस्कृतिक भेषभुषामा सजिन लगाई सोही सम्बन्धी सम्पूर्ण कक्षामा कार्यक्रमको आयोजना गरिएको गुरुकुल लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिए । सोही अनुसार गुरुकुल एकेडेमी तुलसीपुरले पनि कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस