पठनपाठनसँगै संस्कार दिने कुरा महत्वपूर्ण हुन्छ : उपकुलपति लामिछाने
दाङ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा उपकुलपति यादव प्रसाद लामिछानेले विद्यार्थीलाई पठनपाठनसँगै संस्कार दिने कुरा महत्वपूर्ण रहेको बताए । मंगलबार गोरखा माध्यमिक विद्यालय तुलसीपुरको १३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले क्याम्पस स्तरीय शिक्षाबाट सन्दर्भगत केही कुरा आएपनि त्यो भन्दा महत्वपूर्ण कुरा घरको संस्कार नै रहेको बताए ।
‘हामीले शिक्षा दिने हो की संस्कार दिने हो, शिक्षा अनिवार्य छ अहिले सर्टिफिकेट चाहिएको छ तर प्रमाणपत्र मात्रै ठूलो कुरा होइन त्यसको साथसाथै संस्कार सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ उनले भने ‘पढेको छ तर उसमा संस्कारजन्य कुराहरू न्यून छन् भने प्रमाणपत्र मात्र सिरानीमा राखेर त्यसको उपलब्धि हासिल हुन्न भन्ने मेरो ठहर हो ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लामिछानेले विद्यार्थीहरूलाई आग्रह गर्दै जुनसुकै अभिभावकले पनि आफ्नो सन्तान यहाँसम्म आइपुग्न र यो भन्दा पनि अगाडि बढ्नको लागि साथै उज्ज्वल भविष्यको कामना गर्ने बुबाआमालाई ईश्वरको रुपमा सम्झनुपर्ने बताए । साथै अभिभावकहरू कार्य व्यस्तताका कारण आफ्नो बच्चाको ख्याल राख्न नसकी बच्चा गलत बाटोमा हिँडेको छ भनी ख्याल गर्न आग्रह गरे ।
त्यस्तै उनले विद्यार्थीलाई गह्रौं झोला, खरर अंग्रेजी बोल्न सक्ने मात्र नभइ अभिभावकले घरमा थोरै समय दिएर संस्कार सिकाउन र संस्कार बारे जानकारी दिन आवश्यक रहेको बताए । यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले व्यवहारिक शिक्षा नै अहिलेको आवश्यकता भएको भन्दै अब त्यस तर्फ लाग्न आग्रह गरे । साथै समायानुकुल शिक्षा पद्धति सबै विद्यालयले अपनाउनु पर्ने कुरामा जोड दिए ।

यस्तै कार्यक्रममा तुलसीपुर ६ का अध्यक्ष भण्डारीले अहिले धेरै युवाहरू प्लस टु पास गरेर वैदेशिक रोजगारीमा जाने लहर लागेको बताए ।यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष तथा सेन्टर माध्यामिक विद्यालय प्रधानाध्यापक भागवत पौडेलले शिक्षाले नै समाज परिवर्तन गर्ने भएकोले शिक्षा महत्वपूर्ण भएको बताए ।
उनले शिक्षा सँगसँगै सीपको पनि आवश्यकता भएकोले सीपयुक्त शिक्षा दिनुपर्ने बताए । कार्यक्रममा तुलसीपुरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।गोर्खा माध्यामिक विद्यालयका प्रधानाध्यापक विजयमान जिएमले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार ८ सय ७७ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए । अहिले विद्यालयमा १ सय २४ जना शिक्षक कर्मचारी रहेको उनले जानकारी दिए । विद्यालयले कक्षा ६ देखि १२ सम्म प्रथम हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । गोर्खा ग्रुप दाङका एकेडेमिक कोर्डिनेटर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
उक्त उत्सवमा विज्ञान प्रदर्शन समेत गरिएको थियो, भने नृत्य तथा गीत सङ्गीतको पनि कार्यक्रम रहेको थियो । विद्यालय सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक पूर्णविक्रम डिसी र कमल भण्डारीले गरेका थिए ।

