साथिको सहयोग साथिलाई

दाङ । विहानको ठिक १० बजे दाङ घोराही उपमहानगरपालिका १७ चौघेरामा रहेको गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयका सबै विद्यार्थी विद्यालय प्राङ्गणमा थिए । विद्यालयको नियमित प्रार्थनापछि एकजना शिक्षकले विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्रा एनी जीसीको जन्मदिन भएको माईकबाट उद्घोष गरे ।

सानी वालीका अगाडी आईन उनलाई जन्मदीनको अवसरमा सवै विद्यार्थी तथा शिक्षक शिक्षीकाले टिका लगाईदिए र जन्मदीन मनाईदिए । एनी पनि खुशि देखिन्थीन् । “बाबा मम्मीले स्कुलको बाकसमा खसाल्नु भनेर दिनु भएको हो, विद्यालयमा नै जन्मदीन मनाउन पाउदा मलाई खुशि लागेको छ” एनीले भनिन् । उनले जन्मदिन मनाउन घरबाट ल्याएको नगद विद्यालयले बनाएको सहयोग बाकसमा आफै खसालिन् ।

झट्ट हेर्दा अचम्म लाग्ला तर, विद्यालयले सुरु गरेको यो कार्य प्रसंसनीय र अनुकरणीय पनि छ । उक्त सहयोग बाकसमा संकलीत रकमले विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीहरुलाई सहयोग गर्ने गरेको विद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा गरिने सहयोगको लागि विद्यालयले कार्यविधि नै वनायर लागु गरेको छ । जन्मदिन बारे विद्यार्थीहरुले शिक्षकलाई अघिल्लो दिन जानकारी दिन्छन् । “शिक्षकले पनि जन्मदिनवारे विहानको प्रार्थनाको समयमा अगाडी वोलायर मनाईदिन्छन् । सहयोग रकम स्वच्छिक छ, जसले जती सक्छ जन्मदिन बक्समा आफै खसाल्छ” विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले भने ।

जन्मदिनको अवसरमा धेरैले अनेक थरीका सहयोगका कामहरु गरेको देखेर विद्यालयका प्रधानाध्यापक शेमलाल मल्लले २०७९ मंसिर १५ मा “साथीको सहयोग साथीलाई” भन्ने योजना बनाए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक शिक्षिकाको जन्मदिनमा एथासक्य रकम उक्त बाकसमा खसाल्नुपर्ने र उक्त रकम विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीलाई सहयोग गर्नेगरी बनाएको योजना विद्यालय ब्यवस्थापन समितिबाट अनुमोदन गराई लागु गरेका हुन् ।

सहयोग बाकस अहिलेसम्म दुईपटक खोलेर जम्मा भएको रकमले ३० जना विद्यार्थीलाई सहयोग गरेको विद्यालयको रेकर्डमा छ । पहिलो पटक २०७९ पौष २९ गते खोलेको बाकसमा १५ हजार ६० रुपैयाँ संकलन भएको प्रअ मल्लले जानकारी दिए । उक्त रकमले १५ जना गरिब विद्यार्थीलाई पोसाक र स्टेशनरी सहयोग गरेको उनले बताए ।

त्यसैगरी २०८० असार १५ मा दोस्रोपटक बाकस खोल्दा १२ हजार एक सय ५० रुपैयाँ संकलन भएको मा १५ जना विद्यार्थीलाई नै सहयोग गरेको प्रअ मल्लले जानकारी दिए । गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयमा अहिले एक हजार दुईसय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुको जन्मदिन प्रत्येक दिन जस्तो परिरहन्छ । सामुहिक रुपमा जन्मदिन मनाउन पाउँदा जन्मदिन हुने विद्यार्थी पनि खुशी देखिन्छ भने जन्मदिन मनाउन केक काट्न खर्च हुने रकम साथीलाई नै सहयोग हुने देखेर विद्यार्थीहरु पनि खुशी छन् ।

बाल क्लवका अध्यक्ष : अनिल बस्नेत, उपाध्यक्ष : अन्जली अधिकारी
विद्यालयमा रहेको बाल क्लवका अध्यक्ष कक्षा १० मा अध्ययनरत छात्र अनिल बस्नेतका अनुसार प्रधानाध्यापक सेमलाल मल्लले विद्यालय सुधार्न धेरै मेहनत गरेका छन् । विद्यालयमा हरेक महिना नियमित बिद्यालय आउने छात्रछात्राहरुलाई रु. एक सय ५० बरावरको कापी उपहार दिने ब्यवस्था मिलाएका छन् ।

त्यसको लागि कक्षा शिक्षकले हाजिरी हेरेर सिफारिस गरेपछि नियमित हुने छात्रछात्राले पुरस्कार स्वरुप कापी पाउँछन् । छात्राहरुलाई मासिक रुपमा सेनेटरी प्याडको ब्यवस्था विद्यालयले गरेको बाल क्लवकी उपाध्यक्ष अन्जली अधिकारीले बताईन् । “साथीको सहयोग साथीलाई भनेर योजना पनि प्रधानाध्यापक मल्ल सरले नै बनाउनु भएको हो, अहिले हामीले गरेको सहयोगले हाम्रै भाईबहीनीहरुले पाईरहेको देख्दा खुशी लागेको छ” अधिकारीले भनिन् ।

प्रधानाध्यापकः सेमलाल मल्ल
शेमलाल मल्ल २०७० असार ३० गते सरुवा भएर आएका हुन् । उनी विद्यालयमा आएदेखी शैक्षिक सुधारदेखि विद्यालयको भौतिक पुर्वाधारमा समेत सुधार आएको छ । मल्ल विद्यालयमा आउँदा विद्यार्थी संख्या ६ सय रहेकोमा अहिले १२ सयको हाराहारीमा विद्यार्थी छन् । अहिले विद्यालयमा प्राविधिक धार अन्तर्गत पशु प्राविधिक पढाई भैरहेको छ । उनी आएपछि विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालनमा छ ।

विद्यालयमा कम्प्युटर ल्यावको व्यवस्था, कक्षा कोठामा स्मार्ट बोर्डको व्यवस्था, टाढाबाट आउने विद्यार्थीको लागि यातायातको सुविधा, स्थानीयलाई सुविधा होस् भनेर विद्यालयले भेटेनरी क्लिनिकको समेत ब्यवस्था गरेको छ । “स्थानीयहरु प्रायजसो सवै पशुपालक भए पनि प्राविधिक सुविधा नभएकोले विद्यालयमा नै अध्ययनरत विद्यार्थीवाट उपचारको व्यवस्था मिलाउन भेटेनरी क्लिनिको सुरुवात गरेका हौ” प्रअ मल्लले भने ।

सामुदायीक विद्यालय सुधार्न मेहनत गर्नुपर्ने उनले बताए । परम्परागत सैलिमा चलेकै कारण सामुदायीक विद्यालयको अवस्था खस्कीएको उनको बुझाई छ । विद्यालय परिवार एक भएर लाग्ने हो र शिक्षक पनि समयानुकुल परीवर्तन हुनेहो भने सामुदायीक विद्यालय निजी विद्यालय भन्दा राम्रो बनाउन सकिने सोच उनमा छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्षः निर्मल आचार्य
सामुदायीक विद्यालयमा विद्यार्थी संख्या घट्दै जादा केही नमुना योग्य कामका साथै शैक्षिक सुधारका कामगर्नुपर्ने देखेर प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिले केही सुधारका काम गरेको छ । “जसले गर्दा अभिभावकहरुले विश्वास गरेर आफ्ना नानिवावुलाई विद्यालय पठाउनुभएको छ त्यसलाई नै शैक्षिक तथा विद्यालय सुधारको संकेत मानेका छौ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले भने ।

सामुदायीक विद्यालयमा राज्यको लगानी भए पनि अभिभावकहरुमा सामुदायीक विद्यालयप्रति विश्वास खस्केको छ । त्यसलाई सुधार गर्न मात्र हामी लागि परेका छौ । “अहिले हाम्रो विद्यालयमा भएका सुधारका कारण नै विद्यार्थी संख्या बढेको हो, यसमा प्रधानाध्यापक मल्ल सर र मेरो अथक प्रयास पछि सम्भव भएको हो” अध्यक्ष आचार्यले भने । विद्यालयमा सुधार गर्नुपर्ने अझ धेरै कामहरु बाँकी छन् । सुधार गर्नुपर्ने काम जान्दाजान्दैपनि विद्यालयको अवस्था, राजनीतिक पहुँच, सरकारको लगानीले गर्दापनि सुधार गर्न सकिएको छैन तर पनि ब्यवस्थापन समिति, र विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी हार नमानेर लागि रहेको उनले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस