संघीयता प्रतिको निराशा हटाउने गरि काम गर्नु पर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयता प्रतिको जनताको निराशा हटाउने गरि सरकारले काम गर्नु पर्ने बताए । बिहीबार लुम्बिनीमा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदन प्रदान कार्यक्रममा बोल्दै  उनले तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरि जनता प्रतिको विश्वास बढाउनु पर्ने बताए  ।

उनले  संघीयता प्रति बढेको  निराशा कम गराई संघीयता र संविधान प्रतिको विश्वास बढाउनु पर्ने उल्लेख गरे ।  उनले भने,‘  अधिकार सबैले प्रयोग गरौँ, जनताको विश्वास हराउन दिनु हुँदैन  । संघीयतामा विकास, नेतृत्वमा प्रतिस्पर्धा गरौँ र जनताको पहुँच बढाउ । तर आलोचना र  चुनौतीमा मात्रै  अलमल नगरौँ ।’ 

उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेको भन्दै यसको औचित्य पुष्टि गर्नु पर्ने भन्दै संघीयता फेल भयो, भने संविधान पनि फेल हुने हुँदा यो चुनौती सबै मिलेर सामना गर्नु पर्ने समेत बताए । कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नु पर्ने बताए ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु यादवले केन्द्रले संघीयता प्रति राख्ने दृष्टिकोण फरक रहेको बताए ।  कार्यक्रममा नीतिनिर्माता गर्दा र योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको  योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताए  । कार्यक्रममा सातै प्रदेशका  योजना आयोगका उपाध्यक्ष , सदस्य लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस