मुख्यमन्त्री चौधरीद्वारा नविना थारूको सालिक अनावरण

बर्दिया :   वन्यजन्तु पीडित नविना थारूको सालिक अनावरण अनावरण गरिएको छ । बुधवार लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सालिक अनावरण गरेका हुन् ।  सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले नविना थारूलाई सहिद घोषणा गर्न केन्द्र सरकार समक्ष पहल गर्ने बताए । प्रदेश सरकारले सहिद घोषणा गर्न नपाउने बताउँदै उनले प्रदेश सरकारले पहल गर्ने बताए ।

केन्द्र सरकारले नविनाको परिवारलाई दिने भनेको २० लाख राहत रकम मध्ये ८ लाख बाँकी रहेको परिवारले जानकारी दिएको बताउँदै बाँकी राहत रकम तत्कालै निकासा गर्न लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकार समक्ष पहल गर्ने उनको भनाई थियो । उनले वन्यजन्तु नियन्त्रणका लागि प्रदेश सरकारले नीतिगत निर्णय  गरि आगामी दिनमा यस्ता खालका घटना हुन नदिन सचेत रहेको बताए ।

उनले  वन्यजन्तु पीडित परिवारका बालबालिकाहरूको निशुल्क उच्च शिक्षाको लागि विद्यालयहरूसँग छलफल गर्ने बताए । उनले भने,  ‘सबै पीडित परिवारलाई जागिरको व्यवस्था गर्न नसकिएला तर आयआर्जन गर्न सक्ने कार्यक्रम प्रदेश सरकारले सञ्चालन गर्ने छ ।’ बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा २०७९ जेठ २३ गते वन्यजन्तु पीडितहरूले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा प्रहरीको गोली लागी उनको मृत्यु भएको थियो।

बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।त्यस्तै अनावरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले वन्यजन्तु द्वन्द्व दीर्घकालिक रुपमा न्यूनिकरणका लागि प्रदेश सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने बताए । बर्दियाका जनतालाई वन्यजन्तुबाट सुरक्षित राख्न हरेक क्षण प्रयासरत रहेको उनले बताए ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस