संघीयता कार्यान्वयन गर्न प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री

दाङ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताए ।  शुक्रबार गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुबाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले  त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताए  । 

 उनले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरेका छन् । उनले भने,‘  संघले अधिकार तल्लो तहमा नदिँदा  कार्य सम्पादनमा समस्या भइरहेको छ ।  त्यसको असर संघीयताको कार्यान्वयनमा  पनि पुगेको छ ।  सरकार रहेको तर ,अधिकारमा सम्पन्न सरकार नहुदाँ संघीयता समेत कार्यान्वयन नभएको छैन् ।’ 

यस्तै उनले अहिले सङ्घीयतामा आलोचना बढिरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए ।   उनले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए  ।  अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको भन्दै उनले संघीयता विफल भए पनि संघ कै कारण हुने पनि उल्लेख गरे ।

उनले थपे,‘  संघले पूर्ण अधिकार प्रदेशलाई दियो, भने मात्रै संघीयता कार्यान्वयन हुन्छ ।  प्रदेश सरकारको औचित्य पनि पुष्टि हुन्छ ।  स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरू निर्माण गर्नु पर्छ । ’ यस्तै सबै योजनाहरू आर्थिक समृद्धिसँग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस