अट्वारी पर्वमा दाङसहित तिन जिल्लाका थारू समुदायलाई सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले बडका अट्वारीको अवसरमा दाङसहित तिन जिल्लाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ । २०७९ चैत १७ गते बसेको प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार भदौ ३१ गते आइतबार सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिएको छ । अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दिया गरी तिन जिल्लाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको प्रदेशको गृह मन्त्रालयका अधिकृत माधव शर्माले जानकारी दिए ।
यस्तै घोराही उपमहानगरपालिकाले भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ । थारू समुदायको अट्वारी पर्वको अवसरमा एक दिन उपमहानगर र उपमहानगर अन्तरगत रहेका सबै कार्यालय तथा सामुदायिक तथा संस्थागत विद्यालयमा समेत सार्वजनिक बिदा दिइएको उपमहानगरले जनाएको छ ।
नगर कार्यापालिकाका मंगलबार भएको निर्णय अनुसार बिदा दिने निर्णय भएको उमहानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिए । दाङ सहितका थारू बाहुल्य जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ ।
भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।
