भ्रष्टाचारमा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न हुँदैनः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा दोषि देखिए आफूलाई नछोड्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफ्ना पार्टीका नेता त के आफूसमेत दोषि देखिएनछोड्न प्रहरीलाई निर्देशन दिएको बताए ।
‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई अगाडि बढाएको छ। कसैलाई पनि बचाउने र अफ्ठ्यारो पार्ने नियतले कुनै पनि काम गरिएको छैन। मैले प्रहरी प्रशासनलाई मेरो पार्टीको नेताको त के कुरा अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन। सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषिलाई छानबिन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारका पछिल्ला गतिविधिहरू कुर्सी टिकाउन लागि नभएको समेत स्पष्टिकरण दिए । यस्तै प्रधानमन्त्री प्रचण्डले न्यायको लडाईमा रहेकी गोरखाकी गंगामाया अधिकारीको उपचारमा सरकारले ३७ लाख खर्च गरिसकेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।