शिक्षक माग गर्दै विद्यार्थीले विद्यालयमा लगाए ताला

सल्यान । शिक्षक माग गर्दै बागचौर नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। महिनौँदेखि अनिवार्य विषयका शिक्षक नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन्। शिक्षक नहुँदा एक विद्यालय बन्द नै भएको छ। बागचौर नगरपालिकाले नगर अनुदानका शिक्षकलाई हटाएर परीक्षा गराएर पदपूर्ति गर्ने भने  पनि महिनौं बितिसक्दा पनि नभएको भन्दै विद्यार्थीले नै विद्यालयमा तालाबन्दी गरेका हुन्।

आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ६ जामुनेचौर र सोमबार अमरज्योति माध्यामिक ३ चौरपानी र शिशुकल्याण माध्यमिक विद्यालय ११ हारिचारमा विद्यार्थीले तााला लगाएका छन्। गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षक हटाएर पुनः परीक्षा गराउने निर्णय गरेको थियो।  शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको थियो। तर अहिलेसम्म पनि विद्याालयमा शिक्षक नआउँदा पढाइ अस्तव्यस्त भएका कारण तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीको भनाइ छ।

सरस्वती माध्यमिक विद्यालयमा बागचौर नगरपालिकाले ६ जामुनेचौरमा नगर अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माध्यमिक विद्यालय बागचौर नगरपालिका ३ चौरपानीमा नेपाली, गणित र सामाजिक बिषयका ३ जना र शिशुकल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारमा तीन शिक्षक नहुँदा पठनपाठनमा असर पुगेको हो। यस्तै श्री शहीद भरत स्मृति विद्यालय बागचौर नगरपालिका–५ सिर्पामा पनि शिक्षक अभावमा विद्यालय नै बिदा गरिएको छ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस