गर्मीका कारण तुलसीपुरका विद्यालय ५ दिनसम्म बिदा

दाङ । केही दिनदेखि जिल्लामा बढेको गर्मी बढेसँगै  तुलसीपुर उपमहानगरपालिकाले ५ दिनका  विद्यालय बिदा गरेको छ । उपमहानगरको शिक्षा शाखाले एक विज्ञप्ति निकालेर जेठ २६ देखि ३० गतेसम्म बिदा दिने निर्णय भएको जनाएको छ ।  नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले  यस वर्षको वार्षिक बिदा कट्टी हुने गरी उपमहानगरभित्रका  सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई  ५ दिन सम्म गर्मी बिदा गर्ने निर्णय भएको उपमहानगरका  शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले  जानकारी दिए ।

उनका अनुसार केही दिनदेखि दाङ जिल्ला लगायत आसपासका क्षेत्रहरूमा बढेको गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएको साथै मौसम विद्का अनुसार अझै केही दिनसम्म तापक्रम वृद्धि हुन सक्ने पूर्वानुमान रहेकाले  बिदा दिइएको हो ।  यस्तै अत्याधिक गर्मी बढेपछि राप्ती गाउँपालिकाले पनि ३ दिनसम्मका लागि बिदा दिएको छ ।   जेठ २४ गते देखि जेठ २६ गते सम्म हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी ३ दिन विद्यालय  बिदा गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस