लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीसहित विनाविभागीय तीन मन्त्रीले लिए सपथ

दाङ ।  लुम्बिनी प्रदेशका चौथो नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहित अन्य ३ जना विना विभागीय मन्त्रीले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा उनीहरूले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका थिए । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले नेता मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

नवनियुक्त मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , नागरिक उन्मुक्ति र जनमत , जनता समाजवादी र लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

यस्तै ३ जना विना विभागीय मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । जसमा दाङको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित माओवादी केन्द्र धनबहादुर मास्की, रूपन्देही निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित लोसपाका सन्तोष कुमार पाण्डे र बर्दिया निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी रहेका छन् । प्रदेशका १० वटा मन्त्रालयहरु रहेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस