उपनिर्वाचन : एमालेबाट तनहुँमा सर्वेन्द्र र चितवनमा रामप्रसाद उम्मेदवार बने
काठमाडौं । नेकपा (एमाले) ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवै जनालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तर, एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने, आइतबार सम्म उम्मेदवार तय गर्ने जनाएको छ ।
त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

