दाङमा यस पटक १३ हजार बढि विद्यार्थीले एसईई दिँदै

दाङ । जिल्लामा यस पटक १३ हजार ४५२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी हुने छन् । ६ हजार ३ सय छात्र र ७ हजार १०६ जना छात्राले एसईईको परीक्षा दिन लागेको जिल्ला शिक्षा विकास समन्वय तथा इकाई दाङले जनाएको छ । यस्तै जिल्लामा यस पटक ३ जना दृष्टिविहीनले एसईईको परीक्षामा सहभागी हुन लागेको समितिका प्रमुख देवमणि चौधरीले बताए । उनका अनुसार २ जना गुरुजजुर रक्षाचौर माविका र १ जना मावि गौरीघाटका विद्यार्थीले एसईई दिन लागेका हुन् । साथै आंशिक तर्फ ८४ जनाले परीक्षामा सहभागी हुँदैछन् ।
यस्तै जिल्लामा यस वर्ष ४५ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । जसमध्ये तुलसीपुरमा १३ वटा, घोराहीमा १३ वटा रहेका छन्, भने लमहीमा ५ वटा , राप्ती र गढवामा ३ / ३ वटा , दंगीशरण, शान्तिनगर र बबईमा २ / २ वटा र राजपुर, बंगलाचुली गाउँपालिकामा १ / १ वटा परीक्षा केन्द्रहरूको तोकिएको प्रमुख उनको भनाइ छ । त्यस्तै जिल्लामा एसईई परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको पनि उनले बताए । उनका अनुसार परीक्षाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको छ, भने परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र परीक्षा केन्द्रहरूमा पठाइएको छ ।
त्यस्तै परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीन परीक्षार्थीले आफू अध्ययन गरिरहेको विद्यालयबाटै एसईई परीक्षा दिन पाउने व्यवस्था गरेको बताए पनि जिल्लामा भने त्यसको निर्देशन आइनसकेको प्रमुख चौधरीले बताए । कार्यालयले दृष्टिविहीन परीक्षार्थीको लागि स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा नै उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गरिने छ भनेर उल्लेख गरेको छ । तर, जिल्लामा भने त्यसको कार्यान्वयन हुन कुनै परिपत्र नभएको उनको भनाइ छ । गत वर्ष जिल्लामा १२ हजार ७५५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आगामी चैत १७ गतेदेखि शुरु हुँदैछ ।