मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) घोराही नगर कमिटीले आयोजना गरेको ग्रास रुट अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘राष्ट्रिय एकताबाट मात्रै मुलुकको समृद्धि सम्भव हुन्छ । राजनीतिमा टुटफुट हुँदा अस्थिरता निम्तिन्छ । यो कुरालाई आत्मसात गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्दछ ।’

राष्ट्रपतिको निर्वाचनले गर्दा अस्थिरताका संकेत देखिन थालेको भन्दै मुख्यमन्त्री गिरीले पूर्व सहमतिबाट माओवादी केन्द्र पछाडि हट्दा समस्या उत्पन्न भएको बताए । मुलुकको समृद्धि र स्थायित्वका लागि एमाले कटिबद्ध भएर लाग्दै आएको स्मरण गराउँदै उनले भने , ‘एमाले सदैव समृद्धि र स्थायित्वको पक्षमा रहँदै आएको छ । स्थायित्वकै लागि भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका हौं । उहाँ पूर्व सहमतिबाट हट्दा मुलुकमा अस्थिरताका सङ्केतहरूमा देखिन थालेका छन् ।’

जनताको बहुदलीय जनवाद हुँदै मुलुकलाई समाजवादसम्म पुर्‍याउने अभियानमा एमाले रहेको भन्दै एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका उनले पार्टीको नीति तथा कार्यदिशा जनतासम्म लैजान नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । एमाले जबजको वैचारिक मार्ग र जनताको माया र सद्भावबाट हुर्किएको पार्टी रहेको बताउँदै उनले पार्टीलाई जनतासँग जोड्न ग्रास रुट अभियान सञ्चालन गरिएको बताए ।

कम्युनिष्ट पार्टीका बीचमा एकता र सहकार्य हुन नदिन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेल बढिरहेको भन्दै उनले भने , ‘जबजब कम्युनिष्ट पार्टीका बीचमा एकता र सहकार्य सुरु हुन्छ तब तब कम्युनिष्ट पार्टी एकता तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल सुरु हुन्छ । अहिले पनि त्यही सुरु भएको छ । यो कम्युनिष्ट पार्टी मात्र नभई सिंगो मुलुकको हितमा छैन । यसतर्फ सबै सचेत भएर लाग्नुपर्दछ ।’

ग्रास उट अभियानलाई पार्टी निर्माणको महत्वपूर्ण अवसरका रुपमा लिने बताउँदै उनले भने , ‘पार्टी निर्माणका लागि हामीले ग्रास उट अभियान सञ्चालन गरेका छौं । पार्टीले विजय हासिल गरेका स्थानीय तह जनप्रतिनिधिको नेतृत्वमा र पराजय बेहोरेको पालिकाका पार्टी नेताको नेतृत्वमा सभासद् दल गठन गर्ने छौं । यसले विकास निर्माणमा खबरदारी गर्ने काम गर्नेछ ।’

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस