लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री वलीद्वारा माओवादी केन्द्र परित्याग

दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला कुमार खत्री ( वली ) ले नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएकी छन् । उनले आफूलाई पार्टीले न्याय नदिएको भन्दै पार्टीबाट राजिनामा दिएकी हुन् । उनले गत २४ माघमा माओवादी केन्द्र जिल्ला समन्वय दाङ कमिटीमा राजिनामा पत्र बुझाएकी हुन् । उनले राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘ म दुई ठूला पार्टी ( माओवादी केन्द्र ) र नेकपा ( एमाले ) बीच एकता भई बनेको नेकपा पार्टीबाट श्रीमानको निधन भएपनि लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भए । श्रीमानको योगदानको कदर गर्दै पार्टीले मलाई उम्मेदवार बनाएको थियो । श्रीमानको लोकप्रियता र म प्रति जनताले गरेको सहानुभूति र तत्कालीन पार्टीको सहयोगबाट मैले विजयी हासिल गरे ।’ उपनिर्वाचनमा आफूलाई बढि सहयोग माओवादी केन्द्रबाट भएको हुँदा दुई पार्टी विभाजन हुँदा आफ्ना श्रीमानको योगदान एमालेमा हुँदा हुँदै पनि मुटुमाथि ढुंगा राखी माओवादी केन्द्रलाई सहयोग गरेको उल्लेख गरेकी छन् ।
उनले आफू माओवादी केन्द्रमा आएपछि पार्टीले राज्यमन्त्री बनाएको भएयता पनि त्यस बीचमा केही उत्तारचढाव आउँदा पार्टीले आफूलाई सहयोग नगरेको पनि गुनासो गरेकी छन् । उनले ठूला ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेको भन्दै आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर आफूलाई जबरजस्ती मन्त्रीजीबाट राजीनामा दिन लगाइएको भन्ने पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् । त्यसपछि पार्टीले आफूलाई कुनै वास्ता नगरेको र पार्टीले युज एण्ड थ्रो गरेको अनुभूति भएपछि आफूले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘ त्यत्रो सरकार नै परिर्वतन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरि अहिले कुनै वास्ता नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूति भएको छ । त्यसैले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छु ।’ तत्काली एमालेका सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उनलाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ (ख)बाट निर्वाचित भएकी थिइन् । उनले माओवादी केन्द्र रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादीको नेतृत्वमा सरकार बनेको थियो ।
