मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन, भोलिसम्मको समय

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा मंगलबार पेश गर्ने भनिएको बहुमत सदस्यको दाबी पेश हुन सकेन । एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी थियो । तर, सत्तारूढ दलका शीर्ष नेतृत्व तथा संसदीय दलका नेता नै उपस्थिति हुन नसकेपछि दाबी पेश हुन नसकेको हो ।
प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै दाबी पेश गर्ने तयारी थियो । मंगलबार एमालेलगायत केही दलका नेता प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारीमा थिए । तर, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नै काठमाडौँ गएपछि आज गर्ने भनिएको दाबी पेश हुन नसकेको स्रोतले बतायो ।
लुम्बिनी प्रदेशमा एमालेले पाँच वर्ष सरकार चलाउने गरी शीर्ष तहमा सहमति जुटेको थियो । तर, महराले त्यसमा असहमति जनाउँदै आधा–आधा कार्यकाल चलाउन पाउनुपर्ने अडानमा छन् । जसले गर्दा आज तय गरिएको दाबी पेश गर्ने कार्य प्रभावित भएको स्रोतको भनाइ छ ।
एमाले नेता भूमिश्वर ढकालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका नेता काठमाडौँमा रहेकाले दाबी पेश हुन नसकेको बताए । ‘भोलिसम्म समय छ । भोलि अपराह्न ४ बजे दाबी पेश हुन्छ,’ उनले भने, ‘एक दिनअघि दाबी पेश गरौँ भन्ने सहमति भएको थियो। तर, तयारी पुगेन ।’
तर, महरा भने काठमाडौँबाट आइतबार नै फर्किएका थिए । माओवादी संसदीय दलको बैठक लम्बिँदा दाबी पेश गर्न बुटवल जान नसकेको र भोलि दाबी पेश हुने माओवादीका एक नेताले बताए ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
सोही प्रावधानअन्तर्गत प्रदेश प्रमुखले पुस २७ गते बुधबार अपराह्न ४ बजेसम्मको समयमा दाबी पेश गर्न समय दिएका छन् ।
एमाले २९, माओवादी ९, राप्रपा र नागरिक उन्मुक्ति ४÷४, जनमत पार्टी र जसपाको ३÷३ सिट छ । नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, लोकतान्त्रिक समाजवादीका तीन र स्वतन्त्र ३ जना छन् ।