गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा डिसी नियुक्त

दाङ । दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा डा कृष्णराज डिसी नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न डिसीलाई गुरुकुल एकेडेमीको विहिवार बसेको संचालक समितिको बैठकले आगामी दुई वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रधानाध्यापक डिसीले शुक्रवारदेखि जिम्मेवारी ग्रहण गरेका छन् । जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक डिसीले छोटो समयमा गुरुकुल एकेडेमीले प्राप्त गरेको शैक्षिक सफलतालाई कायम राख्दै थप सफलताका लागि कुनै प्रकारको आच आउन नदिएर अघि बढ्ने बताएका थिए । शिक्षा क्षेत्रमा संगालेको लामो अनुभवलाई गुरुकुलको उद्देश्य प्राप्तीका लागि लगाउने भन्दै उनले गुरुकुलको सफलता प्राप्तिका लागि शिक्षक तथा कर्मचारीहरु मन, वचन र कर्मले एकाकार भएर अघि बढनुपर्ने बताएका थिए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत रहेको जिल्लाकै अव्वल सामुदायिक विद्यालय पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका डिसीले विभिन्न शैक्षिक सस्थाहरुमा शिक्षण शिकाईको काम गर्दै आएका थिए । नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै गुरुकुल एकेडेमीका सिईओ अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासँगै अव्वल शैक्षिक सस्थाका रुपमा गुरुकुललाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गुरुकुल स्थापना भएको सात बर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उनले ती उपलव्धीहरुलाई सस्थागत गर्दै उद्देश्य प्राप्तिका लागि डिसीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । स्वास्थ्य कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकलाई गुरुकुल एकेडेमीका सिइओ अनन्तराज घिमिरे, प्लस २ संयोजन निमानन्द गैरे, सहायक प्रधानाध्यापक मुकुन्द गिरीलगायतका शिक्षकहरुले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गरेका थिए । घोराही उपमहानगरपालिका–१५ को स्थापना भएको गुरुकुल एकेडेमीले २०७२ सालदेखि पठनपठान गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस