शान्ता चौधरी, हुकुम बस्नेतसहितका उम्मेदवार : जो आफैलाई भोट हाल्न पाउने छैनन्
दाङ । दाङका १८ उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवार दिएका छन् । उनीहरुले आफैले आफैलाई भोट हाल्न पाउने छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र ११ जना प्रदेशसभा सदस्यका उम्मेदवारले आफैलाई भोट हाल्न पाउने छैनन् । दाङ क्षेत्र नं. १ बाट २ जना, २ बाट २ जना र ३ बाट ३ जनाले आफ्नो मतदाता नामावली भएको ठाउँभन्दा बाहिरबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै दाङ क्षेत्र नंं १ को प्रदेशसभा १ बाट १ जना, १ को २ बाट १ जना, २ को १ बाट १ जना, २ को २ बाट २ जना,३ को १ बाट २ जना, ३ को २ बाट ५ जनाले आफ्नो नामावली भएको भन्दा अर्को क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
एमालेका शान्ता चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिनिधिसभाको उम्मदवार बनेकी छिन् । उनीको ठेगाना घोराही उपमहानगरपालिका वडा नं. ४ हो । जुन क्षेत्र नं. २ मा पर्छ । त्यस्तै एमालेकै तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा (२) बाट उम्मेदवार दिएका हुकुमबहादुर बस्नेतले पनि आफूलाई मतदान गर्न पाउनु हुनेछैन । तुलसीपुर १२ निवासी बस्नेतको नामावली क्षेत्र नं. ३ को प्रदेशसभा १ मा रहेको छ ।
त्यस्तै अन्य साना दलका उम्मेदवारहरुले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । भक्तपुर नगरपालिका ३ निवासी गणेशभक्त खर्बुजाले हाम्रो नेपाल पार्टीबाट दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएको छ । सोही ठाउँकै आशाराम बैद्यले दाङ क्षेत्र नं. २ बाट तथा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ निवासी बीरबहादुर चौधरीले दाङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन् । उनीहरु दुबैजना नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।


