टिकट नपाएर एमाले त्यागेका भुसालले गठबन्धन दलको समर्थनमा रुपन्देही १ बाट चुनाव लड्ने

बुटवल । टिकट नपाएर शनिबार मात्रै नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । भुसालले आज आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको तथा नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताए । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ ।’, उनले भने, ‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’
भुसालले अब आफू सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । उनले आफू राजनीतिक मान्छे भएका कारण अरू क्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताए । नेकपा एमालेले चुनाबी तालमेलका लागि रुपन्देही ३ बाट नेता भुसाललाई टिकट नदिएर राप्रपालाई सघाउने भएपछि असन्तुष्टि जनाउँदै एमाले छाडेका थिए ।