भोलि ५ बजेभित्र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न निर्देशन, समय नथपिने

काठमाण्डौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि हुने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए ।

‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने समेत जनाए ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस