दाङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ एमालेबाट नाम सिफारिस उम्मेदवार

दाङ । नेकपा एमालेले दाङका ३ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका नेतृहरू शान्ता चौधरी, गङ्गा चौधरी र रेवतीरमण शर्माको नाम सिफारिस गरिएको छ । यस्तै दाङ क्षेत्र नं.२ बाट एमाले महासचिव शंकर पोखरेलको नाम एकल रुपमा सिफारिस गरिएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
२०७४ सालको निर्वाचनमा पोखरेल निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित भएका थिए । यही क्षेत्रबाट यसअघि नै प्रदेश सभा २ ( क ) मा बलिभद्र रानाको नाम एमालेले एकल रुपमा सिफारिस गरिसकेको छ । त्यस्तै एमालेले दाङको निर्वाचन क्षेत्र नं. ३ बाट ३ जनाको नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरेको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नाम एक नम्बरमा सिफारिस गरिएको छ, भने तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे र केन्द्रीय सदस्य कोमल वलीको नाम सिफारिस भएको जिल्ला सचिव बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं.२ (ख) र निर्वाचन क्षेत्र नं.३ (क) निर्वाचन क्षेत्र नं. १ मा पनि प्रदेशसभा सदस्यका लागि छलफल जारी रहेको छ । यस्तै एमालेले ३ ( ख) मा प्रदेश सभाका लागि जिल्ला अध्यक्ष हुकुम बस्नेत, मेघराज भुसाल र धमकली चौधरीलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।