कार्यकर्ताहरूको गुनासो बढ्यो : माओवादी केन्द्रका उपाध्यक्ष महरा

दाङ । नेकपा ( माओवादी केन्द्र ) उपाध्यक्ष कृष्ण बहादुर महराले पछिल्लो समय पार्टीप्रति कार्यकर्ताहरूको बढ्दो गुनासो रहेको भन्दै आफूहरु गम्भिर भएर काम गर्ने बताए । शुक्रबार दाङको तुलसीपुर १८ हेमन्तापुरका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले ति गुनासोहरूलाई तिन कोणबाट हेरेको भन्दै हल गर्नको लागि कोसिस गर्ने पनि बताए ।
उनले भने,‘ एउटा जनतासँग सम्बन्धित भएर गुनासो हल गर्ने हुन्छ । अर्को सत्तामा भएका कारण संघ, प्रदेश स्थानीय तहबाट समस्या हल गर्ने कोसिस गर्ने छौँ, भने अर्को आफै आफ्नो उत्पादन, श्रमलाई प्रयोग गरी हल गर्न सोच हाम्रो हो ।’ यस्तै उनले गठबन्धन कायम रहेपनि क्रान्तिकारीहरूको बिचमा धुव्रिकरण गर्न आफूहरूको पहिलो प्रयास जारी रहने बताए । उनले अहिले भएको गठबन्धन दायाँ बायाँ गर्न पार्टीको कुनै योजना सोच नभएको भन्दै बाम एकताको लागि प्रयास जारी रहने बताए ।
उनले भने,‘ अहिले गठबन्धन छ । गठबन्धन कायम रहन्छ । गठबन्धन यता उता गर्ने योजना, सोच छैन् । तर, यसको अर्थमा बाम एकताको प्रश्न उठाउनु हुन्न भन्ने होइन् । क्रान्तिकारीहरूको बिचमा पहिलो धुव्रिकरण गर्ने हामीले नीति बनाएका छौँ ।’ यस्तै अरु बामहरूसँग पनि तालमेलको लागि कुराहरू चलिरहेको उनको भनाइ थियो । उपाध्यक्ष महराले स्थानीय तहको निर्वाचनमा आफूहरूले सोच जस्तो नतिजा नआएको पनि प्रष्ट पारे । उनले २०७४ सालको निर्वाचनमा भन्दा अहिले अलिकति बढेको समेत बताए ।
उनले २०७४ सालमा माओवादीले १०६ स्थानीय तहमा निर्वाचित भएको भन्दै यस पटक १२२ वटा स्थानीय तहमा निर्वाचित भएको पनि बताए । उनले गठबन्धन कसिलो नहुँदा र पार्टी भित्र धेरै आकाङ्क्षीहरू हुँदा जस्ता कारणले पार्टीले अपेक्षा गरेको भन्दा कम नतिजा आएको पनि बताए ।
उनले भने,‘ यस पटक हामीले २ सय स्थानीय तहमा नतिजा ल्याउँछौ, भन्ने लागेको थियो । तर, गठबन्धन कसिलो भएन । हाम्रो पार्टी भित्र धेरै आकाङ्क्षीहरू हुँदा हामीले त्यसलाई मिलाउन नसक्दा सोच जस्तो नतिजा आएको छैन् । तर, विगतको वर्षमा भन्दा थोरै बढेको छ, यसैमा हामी सन्तुष्ट छौँ ।’ जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा संघीय सांसदमा निर्वाचित महराले आउँदो निर्वाचनमा आफू कहाँबाट उठ्ने भन्ने बारेमा अहिले नभन्ने बताए । उनले दंगाली जनताको सेवा आफूले गर्दै आएको र आगामी दिनहरूमा पनि गर्ने बताए ।
उनले भने,‘ म कहाँबाट चुनाव लड्ने भन्ने बारेमा अहिले भन्ने हतार गर्दैन । चुवान आउन अझै धेरै समय बाँकी रहेको छ । म दंगाली जनताबाट चुनिएको अहिलेको प्रतिनिधि हुँ । दंगाली जनताको सेवा गर्न कुनै पनि बेलामा जिते पनि हारे पनि उठे पनि नउठे पनि गरिरहन्छु ।’
कार्यक्रममा पार्टीका कार्यकर्ताहरूले पार्टीप्रति जनताहरू निरास हुँदै गएको भन्दै नेतृत्वले ध्यान दिनु पर्ने बताएका थिए । उनीहरूले अहिले पार्टीलाई अगाडि बढाउन निकै चुनौती रहेको भन्दै सबै एक ढिक्का भएर लाग्न पनि आग्रह गरेका थिए । त्यस्तै उनीहरूले नेताहरु निर्वाचनको समयमा मात्र गाउँघरमा आउने भन्दै अन्य समयमा आएर पनि जनताको समस्या सम्बोधन गर्न आग्रह गरेका थिए ।