उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद् बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।
भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ रहेका छन्, भने नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् । यसैगरी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ । उनले पनि उपसभामुखको उम्मेदवारी दर्ता गराएकी छन् ।
भट्टराईको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् ,भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २ सय ६६ जनाले मतदान गर्न पाउँछन् ।
उपसभामुख जित्नका लागि १ सय ३४ मत आवश्यक पर्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जनता समाजवादी पार्टीका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एक जना सांसद छन् । सत्ता गठबन्धनकी उम्मेदवार भुसाल उपसभामुख बन्ने निश्चित जस्तै देखिएको छ ।