पूर्वमन्त्री गिरी जनप्रतिनिधिसहित विद्युत कार्यालयमा पुगेपछि…

दाङ । पश्चिम दाङमा बिद्युत सेवा बारे ब्यापक जनगुनासो आएपछि बिहीबार पूर्व सिन्चाइ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी जनप्रतिनिधिसहित नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र कार्यालयमा पुगे ।
उनीसँगै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षत्री , नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ ( क) सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधिहरू विमल रिजाल, डा. नहकुल केसी, लगायत पुगेका थिए ।
बितरण केन्द्रबारे ब्यापक जन गुनासो आएपछि सेवा सुधारको आग्रह सहित नेता गिरी आफै बितरण केन्द्रका प्रमुख ज्ञान प्रसाद फर्साललाई भेट्न कार्यालय पुगेका हुन ।त्यस क्रममा नेता गिरी लगायत जनप्रतिनिधि र सर्वसाधारणले बितरण केन्द्रबाट सेवा प्रवाहमा भइरहेका लापरबाही तथा कमीकमजोरीको बारेमा अवगत गराउँदै आम जनताले गुनासो गर्ने गरि कमजोरी नदोर्याउन सचेत गराए ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले आफू निर्वाचित भएर आएको ७ महिना जति भएको र यो बीचमा काँग्रेस क्षेत्रीय कार्यालयको ४ वर्ष बढिको बिद्युत बक्यौता सबै चुक्ता गरेपनि पछिल्लो समय एकाध महिनाको बक्यौता हुँदा बिद्युत काट्ने चेतावनी दिनु अव्यवहारिक भएको बताए । यस्तै तुलसीपुरका प्रतिष्ठित व्यापारी विमल रिजालले मुख्य बजार क्षेत्रमै ३ महिनासम्म एक पटक पनि मिटर रिडिङका लागि कर्मचारी नखटाउने र हरेक महिना महसुल तिर्दै आएका उपभोक्ताबाट अन्तिममा कल्पना गरे भन्दा धेरै बिद्युत खपत भएको भनेर एकै पटक हजारौं असुल्नु बदमासी भएको बताए ।
यस्तै विद्युत बितरण केन्द्रमा पुगेका अन्य केही सर्वसाधारण सेवाग्राहीले माग फारम भरेको ६ महिनासम्म पनि घरमा जडान गर्ने मिटर बक्स नपाएको, बिद्युतका कर्मचारीले चिने जानेका तथा केही पाउने ठाउँमा मात्रै पहिला जडान गर्ने गरेको जस्ता गुनासोहरू गरेका थिए । त्यस्तै दंगीशरण गाउँपालिका वडा ३ का वडाध्यक्ष सुकलाल चौधरीले गाउँघरमा सेवाग्राहीको घरमा मिटर बक्स जडान गर्न जाँदा बितरण केन्द्रका कर्मचारीले तोकेर अतिरिक्त रकम माग्ने गरेको भन्दै असन्तुष्टि जनाए ।
उनले गाउँघरमा मिटर बक्स जडान गर्न गएका वितरण केन्द्रका प्राविधिक तथा कर्मचारीले घर धनीले आफूखुशी मेहनेत हेरेर पाँचसय रुपैयाँ दिँदा यत्ति पैसा दिने भन्दै लात्तीले फालेको दृष्य आफैले देखेको भन्दै तत्काल त्यो रोक्न आग्रह गरे । यता कार्यालय प्रमुख फर्सालले आफूहरूले जनतालाई सेवा दिइरहेको बताए । उनले विद्युतको पोल तुलसीपुर कार्यालयले किन्न नमिल्ने भन्दै केन्द्रिय कार्यालय र डिभिजन कार्यालय किन्ने र त्यहाँबाट आएपछि मात्र आफूहरूले काम गर्ने बताए । उनले उताबाट समानहरु नआउँदा समय मै काम गर्न समस्या भएको पनि उल्लेख गरे ।

यस्तै उनले मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समयमा लाइन काटिने पनि बताए । उनले भने,‘ यदि मिटर रिडिङ भएको ६० दिन भित्र महसुल नबुझाएमा हामीले जुनसुकै बेलामा पनि लाइन काट्छौँ ।
त्यो कुनै पनि सरकारी कार्यालय होस्, पार्टी कार्यालय होस् , आम उपभोक्ताको घर नै किन नहोस् । ’ उनले डिभिजन कार्यालयमा मिटरहरुको परीक्षण भएपछि मात्र आफू कहाँ आउने भएकाले ढिलाई हुने गरेको पनि बताए । उनले विना परीक्षण ल्याउन उपभोक्ताहरुलाई समस्या हुने भएकाले डिभिजन कार्यालयले एक÷ एक गरी परीक्षण गर्ने र दिने भएकाले ढिलाई हुने गरेको पनि बताए । यस्तै उनले पश्चिम दाङका उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन तुलसीपुर आउनु पर्ने बाध्यता रहेको भन्दै हापुरेमा महसुल काउन्टर स्थापना हुन लागेको र अबको केही समयपछि त्यहाँबाट सेवा दिने पनि बताए ।