अज्ञात समूहको कुटपिटबाट एक जना घाइते

दाङ । तुलसीपुरमा अज्ञात समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । गएराति तुलसीपुर घोराही सडक खण्डको बिजौरी स्थित बिजौरीबाट तुलसीपुर आउने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले रा ५ प ८६४८ नम्बरको मोटरसाइकललाई रोकेर तुलसीपुर उपमहानगरपालिका ५ निवासी बेत प्रकाश ओलीलाई कुटपिट गरेका हुन् । कुटपिट गरी दुई जना युवाहरू फरार भएका थिए ।
सडक किनारमा बेहोस अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरुमा दुर्घटनाको अनुमान गरिएको थियो । ओली होसमा आएपछि कुटपिट भएको कुरा बाहिरिएको हो । घाइते भएका ओलिको अनुहारमा गम्भीर चोट लागेको छ ।
ओली दाङ भ्याली यातायात प्रालिका अध्यक्ष हुन । आक्रमण गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस