घोराही खानेपानीमा गठबन्धन प्यानल बिजयी
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा देवीबहादुर डिसी (देवी वकिल) पुनः विजयी भएका छन् । डिसीले गठबन्धन प्यानलको नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले १०८५ मत प्राप्त गरेका छन् ।
डिसी संस्थामा सातौँ कार्यकालका लागि निर्वाचित भएका हुन् । २०६० सालदेखि डिसीले संस्थामा निरन्तर नेतृत्व गर्दै आएका छन् । वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय १८८२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले १२९७ मत लिएका छन् । महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती रोका मगर १६९७ मत लिई विजयी भएकी छन् भने संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले १३९८ मत लिएकी छन् ।
सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठ १८२६ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार दिपक कुमार श्रेष्ठले १२९८ मत लिएका छन् । कोषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसी २१९२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार सानुमाया अधिकारीले ८९८ मत लिएका छन् । महिला सदस्यमा गठबन्धनका खुमा खड्काले २१६७, विन्दु पाण्डेयले १८७० र यशोदा पाण्डेयले १६६८ मत प्राप्त गरी विजयी भएका छ ।
त्यस्तै संयुक्त प्यानलका ज्योती रोका मगरले १०६६, देवकला पाण्डेले ११४३ र लक्ष्मी अधिकारीले १२६० मत प्राप्त गरेका छन् । खुला सदस्यमा गठबन्धन प्यानलका किशोर आचार्य २०९२, युवराज आचार्यले १६१० र दिनेश वली १४७२, मत लिई विजयी भएका छन् । संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र सुनिल बनियाँले ७९१, मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले ६६५ मत प्राप्त गरेका छन् । संस्था २०५३ सालमा स्थापना भएको हो । संस्थाको संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी (हाल स्वर्गीय) थिए । नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए । २०५७ सालमा मधुसुदन पौडेल अध्यक्ष भएका थिए भने डिसी दोस्रो कार्यकालमा पनि सदस्य रही काम गरेका थिए । २०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाको नेतृत्व गर्दै आएका छन् । डिसी आम उपभोक्ताका माझ ञपानी बाझ नामले परिचित छन् । संस्थामा नयाँ नेतृत्वका लागि हिजो शनिबार मतदान भएको थियो । कुल ७ हजार १ सय २३ मतदाता रहेकोमा ३ हजार ५ सय ६५ मत खसेको थियो ।

