स्वास्थ्य सम्वन्धी सचेतना फैलाउन शिक्षकलाई यौनिकता शिक्षा प्रदान

दाङ । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले परिवार नियोजन संघले रुकुम पूर्वका शिक्षकहरूलाई वृहत यौनिकता शिक्षा दिन लागेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघको आयोजनामा आज दाङको घोराहीमा रुकुम पूर्वका शिक्षकहरूलाई एकै थलोमा राखेर आगामी पाँच दिनसम्म वृहत यौनिकता शिक्षा प्रदान गरिरहेको छ ।
नेपाल परिवार नियोजन दाङ शाखा उपसभापति भरतराज देवकोटाको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघकी केन्द्रिय उपाध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी पाँच दिने तालिम उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख अतिथि गौतमले समाजमा अहिले पनि खुल्न नसकेको यौन शिक्षाका कारण अनेक प्रकारका विकृति विसंगति तथा अपराधजन्य घटना भइरहेकाले यसको सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाबाटै प्रदान गर्न शिक्षकहरूलाई वृहत यौनिकता शिक्षा मार्फत अभिमुखीकरण गर्न सकेको खण्डमा बालबालिकाहरूको संवेगात्मक विकासमा ठूलो योगदान पुग्ने बताए ।
शहरभन्दा गाउँबस्ती, दुर्गममा बसोबास गर्ने बालबालिकाहरूको संवेगात्मक विकासमा यौन तथा प्रजनन स्वास्थ्य र शिक्षाका बारेमा बेलैमा सचेतना प्रदान गर्न नसक्दा अपराधजन्य घटना मात्रै नभई उनीहरूको व्यक्तिगत स्वास्थ्यमा पनि गम्भीर प्रकारका समस्या अहिले भोग्न बाध्य भएका थुप्रै उदाहरण रहेकाले यसको शिक्षा प्रदान गर्न शिक्षकहरुबाट अघि बढ्न सकिने बताए ।
कार्यक्रममा प्रशिक्षक समेत रहेका सिसो नेपालका अध्यक्ष खुमानन्द सुवेदीले विद्यालय शिक्षाबाटै वृहत यौनिकता शिक्षा प्रदान गर्न सबैभन्दा बलियो आधार शिक्षकहरुमा यसको वृहत ज्ञान दिन जरुरी रहेको बताए । उनले आगामी दिनमा यस प्रकारको ज्ञान फैलाउन हाते पुस्तिका तयार पारि शैक्षिक सामग्रीका रुपमा विकास गर्ने योजनाका साथ अभियान अघि बढेको जानकारी गराए ।
शनिबारदेखि शुरु भएको तालिम आगामी १५ गतेसम्म चल्नेछ । जसमा रुकुम पूर्वका विभिन्न १७ विद्यालयबाट २८ जना शिक्षक सहभागी भएका छन् । तालिमको प्रशिक्षकका रुपमा डा. भगवान अर्याल, अनुप अधिकारी, वसन्त खनाल, नारायणी त्रिपाठी, रेणु यादव, खुमानन्द सुवेदी रहेका छन् । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले गरेका थिए । परिवार नियोजन संघले पछिल्लो समय दुर्गम क्षेत्रमा यौन तथा प्रजनन्न् स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वृहत यौनिकता शिक्षाका बारेमा वृहत रुपमा सचेतना अभियान गर्दै आएको छ ।