महिलाहरू चुलो चौकोमा मात्र सीमित नहुन गाउँपालिका उपाध्यक्ष खड्काको आग्रह

दाङ । दंगीशरण गाउँपालिकाको आयोजनामा महिला सशक्तिकरण सम्बन्धी २ दिने तालिम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पिमा कुमारी खड्का ओलीको सभापतित्वमा तालिमको समापन गरिएको हो ।। समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्काले महिलाहरू चुलो चौकोमा मात्र सीमित नभएर हरेक कुरामा महिलाहरूको पहुँच वृद्धि गर्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् ।
आफ्नो अघिल्लो कार्यकालमा पनि लैङ्गिक महिला हिंसा र बालविवाह न्यूनीकरणका सवालमा कार्यविधि बनाएर अगाडि बढेको बताइन। अबको नीति तथा कार्यक्रममा पनि महिला तथा बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन प्राथमिकताका साथ राखिएको बताइन् । महिलाहरू आफू महिला हो भन्दै आत्मबल नघटाएर आफ्नो हक हित र अधिकार प्रति उच्च मनोबलका साथ अगाडि बढ्न सुझाब समेत दिइन् ।
यस्तै तालिममा सहभागि परीक्षार्थीहरूको तर्फबाट सहभागी महिलाहरूले आफुहरुलाई २ दिनको तालिमले धेरै आत्मबल बढाएको र कुनै पनि कार्यक्रममा निर्धक्क का साथ केही कुरा बोल्न सक्ने र महिला सशक्तिकरणको बारेमा धेरै कुरामा ज्ञान हासिल गरेको सुनाए ।
गाउँपालिका वडा नं. ३ र ४ भित्रका करिब ७० जना माहिलाहरूलाई एउटै थलोमा राखेर महिला हिंसा ,महिला सशक्तिकरण लगायतका विषयमा तालिम दिइएको थियो ।२ दिने तालिमको प्रशिक्षकमा ओरेक नेपाल दाङकी जिल्ला संयोजक ईश्वरी थापा र गाउँपालिकाका राजस्व प्रमुख किरण पोख्रेल रहेका थिए । २ दिने तालिमको सहजिकरण महिला बालबालिका शाखा गाउँपालिकाकि सहायक विकास चन्द्रा वलीले गरेकी थिइन् ।