मुक्त कमलहरीलाई पढाइमा समस्या

दाङ । दाङका मुक्त कमलहरीहरूले कमलहरी मुक्तिको अभियान २२ वर्ष पुग्दा पनि राज्यले कमलहरीहरूको पहिचान गर्न नसेकेको गुनासो गरेका छन् । बुधबार दाङको घोराहीमा मुक्त कमलहरी विकास मञ्च दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् ।
कमलहरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले मुक्त कमलहरीहरूलाई उच्च शिक्षा हासिल गर्नको लागि निकै समस्या भइरहेको बताइन् । २०६६ सालमा राज्यले मुक्त कमलहरीको लागि १२ करोड बजेट छुट्याएको भएयता पनि विगत २ वर्षदेखि सरकारले छात्रवृत्ति नदिँदा करिब २७७ जना मुक्त कमलहरीहरूलाई उच्च शिक्षा हासिल समस्या भएको उनको भनाइ थियो ।
उनले भनिन्,‘ अहिले मुक्त कमलरीहरूलाई बजेट आएको छैन् । जसले गर्दा २७७ जनालाई उच्च शिक्षाको लागि समस्या भएको छ । २०६८ सालमा राज्यले मुक्त कमलहरीहरूको लागि शिक्षा निर्देशिका पास गरेको छ । तर, राज्यले हामीलाई दिइने छात्रवृत्ति कटौती गरेको छ । त्यसलाई निरन्तरता दिनु पर्ने हाम्रो राज्यसँग माग हो ।’ उनले सरकारसँग विभिन्न चरणमा आन्दोलन गर्दै धेरै उपलब्धि पाएको भएयता पनि अहिलेसम्म आफूहरूले परिचय पत्र नपाएको पनि बताइन् । त्यस्तै २०७४ सालमा मुक्त कमलहरीलाई परिचय पत्र वितरण गर्ने कार्य निर्देशिका बनेको भन्दै उनले राज्यले कार्यान्वयनमा वेवास्ता गरेको आरोप लगाइन् ।
उनले भनिन्,‘ धेरै कार्य निर्देशिका मात्र बनेका छैन् । २०७० जेठमा हाम्रो मागको १० बुँदे सम्झौता भएको थियो । तर, राज्यबाट कार्यन्वयन भएको छैन् । अहिले प्रदेश तथा संघले ल्याएको नीति तथा कार्यक्रममा मुक्त कमलहरीलाई कतै सम्बोधन भएको छैन् । अहिलेसम्म हाम्रो पहिचान राज्यले गर्न सकेन । यो नै दुखद कुरा हो ।’ राज्यसँग भएको १० बुँदे सहमतिमा ३ वटा बुँदा मात्र कार्यान्वयन भएको र बाँकी ७ बुँदा कार्यान्वयन हुन बाँकी रहेको भन्दै अहिले आफूहरू १४ बुँदे माग सरकारसँग गरेको पनि उनको भनाइ थियो ।
त्यस्तै उनले विगतका नीति तथा कार्यक्रममा सरकारले केही ठाउँमा मुक्त कमलहरीहरूलाई सम्बोधन गरेको पाइएता पनि अहिले नपाइएको भन्दै आफूहरूलाई दुख महसुस भएको उल्लेख गरिन् । आफूहरूले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा गएर आफ्ना अनुभवहरू सुनाएर आफ्नो पहिचान बनाइ सक्दा पनि राज्यले आफूहरूलाई नचिन्नु दुखद पक्ष भएको उनको भनाइ थियो । आफूहरूको परिचय पत्र नहुँदा विश्वविद्यालय अनुदान आयोगबाट पाइने छात्रवृत्तिबाट समेत बञ्चित हुनु पर्ने अवस्था आएको उनले बताइन् ।
उनले भनिन्,‘ छात्रवृत्ति शिक्षा निर्देशिका हुँदा हुँदै पनि परिचय पत्रका कारण समस्या भएको छ । हाम्रो मुक्त कमलहरी दिदी बहिनीहरू अभिभावक विहीन होस्टलमा बस्दै आएका छन् । उनीहरूको अभिभावक छैन् । तर, विश्वविद्यालय अनुदान आयोगले नाता प्रमाणित खोज्ने गर्दछ । तर, अभिभावक नभएकाले कोसँग नाता प्रमाणित गर्ने ? यसप्रति सरकार सोच्नु पर्ने हुन्छ ।’ यस्तै उनले आर्थिक समस्याका कारण धेरै मुक्त कमलरीहरू क्याम्पस बढ्नबाट बञ्चित हुने अवस्था आएको पनि बताइन् ।
उनका अनुसार पैसाका कारण प्लस टु गरेका मुक्त कमलहरीको पैसाका कारण क्याम्पसमा भर्ना हुनसकेको छैन्, भने भर्ना भएकाहरू पनि आर्थिकका कारण छोड्नु पर्ने अवस्था रहेको छ । उनले छात्रावास बसेर अध्ययन गर्दै आएका मुक्त कमलरीहरूलाई खान, बस्ने र छात्रवृत्ति नहुँदा समस्या भइरहेको पनि बताइन् । उनले आफूहरूले पत्रकार सम्मेलन गरेर आफूहरूको समस्या राज्य कहाँ पु¥याउनको लागि आयोजना गरेको पनि बताइन् । उनले केही समय अगाडि स्थानीय तहलाई पनि ध्यानाकर्षण पत्र बुझाएर आफूहरूको समस्याको बारेमा जानकारी गराएको पनि उल्लेख गरिन् ।
उनले आफूहरूले समस्यालाई राज्यले समय मै सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने पनि चेतावनी दिइन् । उनले राज्यले आफूहरूलाई अन्य समुदाय सरह समेटेको भन्दै त्यो आफूहरूलाई मान्य नभएको पनि बताइन् । आफूहरू छुट्टै परिस्थितीबाट गुज्रिएर आएको हुँदा आफूहरूले भोगेको समस्या छुट्टै भएका कारण अन्य समुदाय सरह नसमेटन् पनि आग्रह गरिन् । उनले आफूहरूले पाउँदै आएका सेवा सुविधाहरु पनि फरक किसिमका हुँदा र आफूहरूले माग गर्दै आएको हुँदा सरकारले वेवास्ता गरेकाले तत्काल ध्यान दिनु पर्ने बताइन् ।