जिल्ला समन्वय समिति पदाधिकारीलाई सपथ ग्रहण

दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति दाङमा निर्वाचित प्रमुख, उपप्रमुखलगायत सदस्यहरूले सपथ ग्रहण गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज घोराहीमा आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित समन्वय समितिका प्रमुख, उपप्रमुखलगायतका सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मालाई मुख्य निर्वाचित अधिकृत रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यसपछि प्रमुख शर्माले समिति उपप्रमुख र सदस्यहरूलाई सपथ ग्रहण गराए ।

सो अवसरमा नवनिर्वाचित समन्वय प्रमुख शर्माले जिल्लाको समग्र विकासका लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालासँग समन्वय गर्ने बताए । उनले विकास तथा परिवर्तनका लागि दल विशेष हेरिन नहुने भन्दै सबैको सहयोगले जिल्लाको विकास हुने बताए ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख श्रीधर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य निर्वाचित अधिकृत रितेन्द्र थापा र जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा देखिने समस्या समाधानसँँगै जिल्लाको समग्र विकासका लागि जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका हुने हुँदा त्यसका लागि नवनिर्वाचित प्रमुखलगायतको टिमले भूमिका खेल्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस