गढवा र राजपुरका जनप्रतिनिधि एकै थलोमा 

गढवा । बिहीबार गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनप्रतिनिधिहरू एकै थलोमा जुटेका छन् । दक्षिण देउखुरी अधिकार मञ्चले आफ्नो संस्थाको सातौँ वार्षिक साधारणसभाको अवसर जुराएर दुवै गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत सम्मान गर्न एकै थलोमा जुटाएको हो ।

समुदायमा आधारित कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चको सातौँ वार्षिक साधारणसभासँगै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत सम्मान कार्यक्रम बिहीबार गढवा स्थित सिपी नेपालको सभाहलमा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष देवराज कुँवरको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल अविश्वास को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखे्रलले विपन्न र सीमान्तकृत समुदायका नागरिकहरू आवद्ध रहेको दक्षिण देउखुरी अधिकार मञ्चका कृषकहरूको समूह मार्फत जीवनस्तर उकास्न किसानहरूको सशक्तिकरण गर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने कुरामा पालिकाले अधिकार मञ्चसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताए । 

कार्यक्रममा बोल्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले आफ्नो जग दक्षिण देउखुरी अधिकार मञ्चबाटै सुरुवात भएको भन्दै मञ्चको बिकास र विपन्न सीमान्तकृत नागरिकहरूको जीवनस्तर उठाउन आफ्नो पालिका पूर्ण प्रतिवद्ध रहेको बताए । त्यसैगरी गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले दक्षिण देउखुरी अधिकार मञ्चले स्थानीय सरकारलाई समेत टेवा पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै पालिकाले सधैँ समन्वय सहकार्य गरेर अगाडि बढ्ने औंल्याएकी थिइन् ।

कार्यक्रममा गढवा गाउँपालिका वडा  नं.  ५ का वडा अध्यक्ष तथा दक्षिण देउखुरी अधिकार मञ्चका जग्गादाता लेखबहादुर थापा, गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर, गढवा ३ का वडाअध्यक्ष तुल्सीराम अधिकारी, सहकर्मी समाज सुर्खेतका संस्थागत विकास अधिकृत पुनाराम पन्थी, चेतनशील महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, नाम्सालिङ सामुदायिक विकास केन्द्रका धनकुमारी चौधरी, समाज विकास सञ्जाल बंगलाचुलीका भीम राना र बासुदेव भण्डारी, समृद्ध विकास मञ्च दंगिशरणका राजकुमारी चौधरी लगायतले बोलेका थिए ।

गढवा र राजपुरका १५ वटा वडाहरूमा कुल ४७ वटा सामुदायिक समूहहरू र पाँचवटा मूल समितिहरुका ११ सयबढी सदस्यहरू परिचालन गर्दै विपन्न र सीमान्तकृत वर्ग समुदायको आयआर्जनमा प्रेरित गर्दै आएको यस मञ्चले क्षमता विकास, रोजगारी र समग्र दक्षिण देउखुरीको भौतिक तथा सामाजिक विकासमा विगतदेखि धेरै कामहरू गरेको संस्थाका अध्यक्ष देवराज कुँवरले बताए ।
 
कार्यक्रममा संस्थाका सदस्य शिवकुमार चौधरीले संस्थागत प्रतिवेदन, कार्यवाहक व्यवस्थापक एवं लेखापाल पुजा चौधरीले आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमहरू प्रस्तुत गरेकी थिइन् । संस्थाका सदस्य चित्रबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन सचिव शोभा रावतले गरेकी थिइन् । 

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस