जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

दाङ । जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यतालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको समय रहेको थियो । तर, तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी दर्ता नभएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध निर्वाचित भएका हुन । यद्यपि निर्वाचन आयोगले भने घोषणा गरेको छैन । स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका ७ बाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको थियो ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी चेतना चौधरी निर्विरोध निर्वाचित भएका छन् । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका ७ बाट सदस्यमा निर्वाचित भएकी थिइन् । त्यस्तै खुला सदस्यमा नेपाली कांग्रेसका कुलबहादुर बूढा, महिला सदस्यमा हरिदेवी पोख्रेल, दलित महिला सदस्यमा सरस्वती नेपाली महिला सदस्यमा जुन कुमारी बूढा , कल्पना शेर्पाइली निर्वाचित भएका हुन् ।
यसैगरी खुला सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट टोपाराम चौधरी र द्रुपती चौधरी निर्विरोध निर्वाचित भएका हुन् । खुला सदस्य बुढा लमही नगरपालिका ७ बाट, महिला सदस्य घोराही उपमहानगरपालिका ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका १४ बाट , महिला सदस्य घोराही उपमहानगरपालिका १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका १३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फका सदस्य चौधरी दंगीशरण गाउँपालिका ३ बाट र द्रुपती राप्ती गाउँपालिका ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समितिमा एक प्रमुख, एक उप प्रमुख, ३ खुला सदस्य, ३ महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ ।
दाङका १० गाउँपालिकाका प्रमुख र उप प्रमुख गरी २० जना मतदाता रहेका छन् । जसमध्ये काङ्ग्रेसको १२, नेकपा एमालेको ५ र नेकपा माओवादी केन्द्रको ३ मत रहेको छ । काङ्ग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा उम्मेदवारी दर्ता गरेसँगै गठबन्धनको बहुमतसहित १५ मत रहेको छ भने नेकपा एमालेको ५ मत रहेको छ ।