दाङ जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवारी दर्ता

दाङ । दाङ जिल्ला समन्वय समितिको जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको छ ।समितिमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका थिए । उप प्रमुखमा नेपाली काङ्ग्रेसका तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको छ । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यस्तै सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य) रहेका छन् ।

खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ , महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले स्थानीय तहको निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् । द्रुपति चौधरी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

समितिमा एक प्रमुख, एक उप प्रमुख, तीन खुला सदस्य, तीन महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ ।

दाङका १० गाउँपालिकाका प्रमुख र उप प्रमुख गरी २० जना मतदाता रहेका छन् । जसमध्ये काङ्ग्रेसको १२, नेकपा एमालेको ५ र नेकपा माओवादी केन्द्रको ३ मत रहेको छ । काङ्ग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गरेसँग‌ै गठबन्धनको बहुमतसहित १५ मत रहेको छ भने नेकपा एमालेको ५ मत रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस