दाङका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा व्यस्त

दाङ । दाङका स्थानीय तह आगामी वर्ष २०७९र८० का लागि योजना छनोटमा जुटेका छन् । असारमा नगर तथा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्दै नागरिकसँग सुझाव लिने कार्यमा व्यस्त भएका छन् । वडा स्तरमा योजना छनौटका कार्यक्रमले प्राथमिकता पाएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार पालिकाका १९ वटै वडालाई वडा स्तरको योजना छनौटको काम २७ गतेसम्म सम्पन्न गरिसक्न परिपत्र भएको छ ।
जिल्लाका अन्य पालिका पनि यति बेला असार १० गते ल्याउने बजेटलाई केन्द्रित गरेर नीति तथा कार्यक्रमका लागि बस्ती स्तर, वडा स्तरबाट सुझाव लिन र योजनाका बारेमा जानकारी गराउन व्यस्त भएका छन् । पालिकाहरूले विगत वर्षमा कोरोनका कारण भौतिक उपस्थितिमा योजना छनौट गर्न सकेका थिएनन् । उनीहरूले टेलिफोन र इमेलमार्फत पालिका बासीबाट सुझाव माग गरेका थिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमार्फत निर्वाचन जनप्रतिनिधिहरूले चुनावी प्रतिवद्धतालाई प्राथमिकीकरणलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । जसका कारण यो पटक नयाँ अनुहारका जनप्रतिनिधिले आफू अनुकुलको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहँदा दोहोरिएका जनप्रतिनिधिले बितेको पाँच वर्षमा सम्पन्न हुन नसकेका योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम ल्याउने योजनामा छन् ।
स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १७ दिनमात्र बाँकी छ । कानूनी रूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषदमा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटेका छन् ।
विगत वर्षमा स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमभन्दा यो पटक शिक्षा, रोजगार, नव प्रवर्तनात्मक कार्यक्रमले प्राथमिकता पाउने अधिकांश स्थानीय पालिका प्रमुखहरूको भनाई छ । गत वर्ष दाङका १० वटै पालिकाले १० अर्ब ४९ करोड ६० लाख ५४ हजार २ सय ५३ रुपैयाँको बजेट ल्याएका थिए ।