गाउँपालिका भन्दा उपमहानगरमा धेरै मत बदर

दाङ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गाउँपालिकामा भन्दा उपमहानगरका धेरै मत बदर भएको छ । थोरै मात्रामा पूर्णरूपमा बदर भए पनि धेरै मात्रामा मेयर र उपमेयरका लागि बदर भएका हुन् । तुलसीपुरमा मात्र पूर्ण रूपमा १ हजार ३४८ मत बदर भएको थियो भने मेयरका लागि ११ हजारभन्दा बढी र उपमेयरका लागि करिब १७ हजार मत बदर भएका थिए । तुलसीपुर उपमहानगरपालिकामा खसेको जम्मा मत ७४ हजार ३३६ खसेको थियो । त्यस्तै तुलसीपुर १२ मा हजार ५६५ मत खसेकोमा वडाध्यक्षमा सदर मत ३ हजार ९४१ थियो भने ६२४ मत बदर भएको थियो ।
त्यस्तै घोराहीमा पनि अवस्था उस्तै रहेको थियो । पूर्णरूपमाभन्दा पनि प्रमुख र उपप्रमुखको मत बदर हुँदा निर्वाचन अधिकृतदेखि उम्मेदवार र केही मतदाता शिक्षाको कमी र मतपत्र जटिल हुँदा धेरै मतबदर भएको बताईन्छ । भने केही जानी जानी मत बदर गरेको हुनसक्ने कतीको अनुमान छ । घोराहीमा ७६ हजार २४२ मत खसेकोमा ६५ हजार ८३८ मत सदर भएको थियो भने करिब साढे १० हजार मेयर पदका लागि र उपमेयरका लागि १० हजारभन्दा बढी मत बदर भएको थियो । तुलसीपुर उपमहानगर१६ की निर्मला डाँगीले मतदाता शिक्षाको कमीले गर्दा नै मत बदर भएको बताइन् ।
उनका अनुसार गाउँ घरमा ज्येष्ठ नागरिकले मतपत्रमा लेखेका कुरा पढ्ने नजान्ने भएकाले पनि उनीहरूलाई मतदाता शिक्षा आवश्यक हुन्छ तर यो पटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा दिइएको पाइएन । त्यस्तै उनले निर्वाचन आयोगले मतदाता शिक्षा नदिएको भएयता पनि उम्मेदवारले गाउँटोलमा गएर चुनाव चिह्नबारे जानकारी दिएको भए पनि त्यसमा कमी हुने बताइन् । त्यस्तै उनले कतिपय कुरामा मतदाताले नियत वश बदर गर्ने गरेको पनि उल्लेख गरिन् । त्यस्तै अर्का दोर्णबहादुर खत्रीले भने केही मतदाता शिक्षाको कमी र अर्को गठबन्धन हुँदा मतदाताले चुनाव चिह्न थाहा नपाउँदा पनि बदर भएको बताए । उनले पनि कतिपय मतदाताले उम्मेदवारहरू मन नपराउँदा सबैलाई भोट दिँदा नै बदर भएको आफूले देखेको बताए । उनले अझै पनि मतदातालाई शिक्षा दिन आवश्यक रहेको बताए ।
मतदातालाई मात्र नभई पार्टीका नेताहरूलाई पनि मतदाता शिक्षाको कमीले गर्दा अहिलेको निर्वाचनमा मत बदर भएको बताउँछन । नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले पनि तुलसीपुरका धेरै वडामा मतहरु बदर भएको बताइन् । उनले भनिन्, ‘मत गणना हुँदा मैले पनि केही वडाको हेर्ने अवसर पाएकी थिए तर ती वडामा धेरै मत बदर भएको देखेँ। यसरी मत बदर हुनुका कारण पहिलो त मतपत्रको कारण हो । त्यसपछि धेरै उम्मेदवार उठेको हुँदा र गठबन्धनले गर्दा पनि कुन उम्मेदवारको चिह्न कुन हो? भनेर थाहा नपाउँदा मत बदर भएको हो । त्यसको लागि मतदाता शिक्षाको कमी भए जस्तो लाग्यो ।
घोराही उपमहानगरमा करिब ११ सय पूर्ण रूपमा मत बदर भएको थियो । यसरी मत बदर हुनुमा मतदाता शिक्षाको कमीले गर्दा भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए । उनका अनुसार मतदाता शिक्षामा निर्वाचन कार्यालय, राजनीतिक दलहरूको भूमिका कमी हुँदा यस्तो भएको हो । त्यस्तै उनले मतदाताले क्रसमत गर्दा बदर भएको भन्दै त्यो गठबन्धनका कारण भएको पनि बताए । त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रीतेन्द्र थापाका अनुसार जिल्लामा दुई प्रकारका मत बदर भएका छन् । पूर्णभन्दा पनि पदका मत धेरै भएका छन् । उनले घोराही उपमहानगरका पूर्णभन्दा पदको मत धेरै बदर भएको भन्दै सदस्यले १५ सय मत पाएर विजयी भएका छन् तर ७र८ सय मत भएको बताए ।
त्यस्तै घोराहीमा मेयर पदका लागि मात्र करिब ९ हजार मत बदर हुँदा चिन्ताजनक अवस्था रहेको उनको भनाइ छ । त्यस्तै उनले मतपत्र बदर हुनुको पहिलो कारण मतपत्र जटिल भएका कारण भएको बताए । उनका अनुसार मतपत्र दुई लहरको र मतपत्र धेरै ठूलो आकारको हुँदा पनि मतदातालाई समस्या भएको हुनसक्छ । त्यस्तै विभिन्न दलहरू मिलेर चुनावका भाग लिँदा पनि समस्या भएको उनको भनाइ छ ।
यस्तै मतदाताहरूले आफूले मत हाले पनि मतपत्रको टुक्रा च्यातेर लगेको धेरै संख्यामा भेटिएका कारण पनि मत बदरको संख्या बढेको हुन सक्ने उनको भनाइ छ । त्यस्तै केही मतपत्रमा विभिन्न वस्तु टाँसेर राखेको पाइएको भन्दै उनले केहीमा आवश्यक उम्मेदवारभन्दा धेरैलाई मत दिँदा पनि बदर भएको पाइएको पनि बताए । योपटक निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरे पनि विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट नियमित रूपमा देखिएको भन्दै मतदाता शिक्षा लागू भएको भए केही संख्यामा मत बदर घट्न सक्ने उनले बताए ।