तुलसीपुर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित, पत्रकार विश्वकर्मा बने सदस्य

दाङ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यका लागि जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनित तर्फबाट तीन जना गरि आठ जना निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिबार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली, वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिता कुमारी लामिछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहेका छन् ।

यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित भएका हुन् । सबै उमेदवारहरुको एकल उमेदवारी परेकाले निर्वाचन कार्यालय शनिबार दिउँसो तिन बजे निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए । उनीहरु आठ जनाको मात्रै उमेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । उनीहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउँदो मंगलबार गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।

गत बिहीबार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उमेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए । तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष, प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

पत्रकार विश्वकर्मा बने कार्यपालिका सदस्य
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा पत्रकार लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट दलित कोटाबाट उनी कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

झन्डै एक दशकदेखि पत्रकारिता गर्दै आएका विश्वकर्माले राप्ती पोष्ट राष्ट्रिय दैनिक पत्रिका, जनरक्षा साप्ताहिक पत्रिकामा आबद्ध हुँदै हाल रेडियो प्रकृतिको निमित्त सम्पादक र तुलसीपुर खबरडटकमको सहसम्पादक तथा तुलसीपत्र दैनिक पत्रिकामा समाचारदाताको रुपमा काम गर्दै आएका थिए । विभिन्न सामाजिक संघसंस्था हुँदै पत्रकारिता सुरु गरेका विश्वकर्माले औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस