इटालाई सुन भनी ठग्ने खोज्ने ५ जना पक्राउ

दाङ । दाङमा प्रहरीले इटालाई सुन भनी झुक्याउने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका ६ खांग्राना बस्ने २६ वर्षीय राज कुमार बूढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यान शारदा नगरपालिका १ की ४९ वर्षीय सावित्रा बुढाथोकी र सल्यान कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बूढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार राती करिब ९ बजेतिर तुलसीपुरमा रहेको एकान्त होटलमा स्थानीयहरूलाई अवैध सुन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट प्रहरी निरीक्षक सन्दिप बेल्बासे नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई २ वटा पक्की इँटा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार प्रहरीले होटलको १०४ नम्बर कोठा खानतलासी गर्दा झोलामा लुकाएर राखेको अवस्थामा इटा फेला परेको थियो । उनीहरूले सुन जस्तै बस्तुको स्याम्पल झोलामा रहेको इटाहरूलाई सुन भनी पैसा दिएर भाग्न खोज्दा पक्राउ गरिएको उनले जानकारी दिए । त्यस्तै प्रहरीले सुन जस्तै देखि ५२ मिलिग्राम रहेको पहेँलो धातुको एक टुक्रा पनि बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस