केही ठाउँमा निर्वाचनमा धाँधली भयो : उपाध्यक्ष ज्ञवाली
दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनमा केही ठाउँमा धाँधली पूर्ण निर्वाचन भएको बताए । मंगलबार तुलसीपुर उपमहानगरपालिका १७ दिपेन्द्र मावि मानपुरमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताए ।
उनले अहिलेको निर्वाचनमा सबै ठाउँमा नभई केही ठाउँमा ज्यादती पूर्ण काम भएको र धाँधली भएको भन्दै केही बुथहरूमा आफ्नो दलका मतदाताहरू मत हाल्न दिइएको र अन्य दलकालाई रोक्न काम भएको आरोप लगाए । यस्तै उनले अहिलेको नतिजामा एमाले दोस्रो स्थानमा आएको भएयता पनि अहिलेसम्म अन्तिम परिणाम नभएको भन्दै जस्तो आउँछ, त्यसैलाई स्वीकार गरेर जानु पर्ने धारणा व्यक्त गरे ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरू उत्साहजनक रुपमा आएको र तुलसीपुर १७ मा वडाध्यक्ष पदका उम्मेदवारको निधन भएपछि जेठ ३ गते निर्वाचन हुन लागेको र बिहानै देखि मतदाताहरू उत्साहजनक रुपमा आएको पनि उनको भनाइ थियो ।
उनले एमालेले लोकतान्त्रीक प्रकृयालाई विश्वास गर्ने पार्टी भएको भन्दै जनताको विश्वासको आधारमा मात्र सत्ता जाने भन्दै जनताले विश्वास नगरे बाहिर प्रतिपक्षमा बसेर जनता र देशको सेवा गर्ने आफूहरूको सिद्धान्त भएको पनि बताए र त्यस्तै सरकारले ल्याउन लागेको बजेटका बारेमा आफूहरूले पार्टीमा छलफल गर्दै आएको र सांसदको बैठक बसेपछि कसरी जाने भन्ने बारेमा निर्णय गर्ने पनि उनको भनाइ थियो ।