एमाले त्यागेर नेकपा एसमा समाहित, गाउँपालिका अध्यक्षमा उम्मेदवारी

दाङ । नेकपा एमाले बबई गाउँपालिकाका अध्यक्ष जित बहादुर वलीले पार्टी परित्याग गरि नेकपा (  एकीकृत समाजवादी ) पार्टीमा समाहित भएका छन् । सोमबार एक प्रेस विज्ञप्ति निकालेर उनले एमाले परित्याग गरि नेकपा एसमा समाहित भएको जनाएको हुन् । साथै, उनले एमाले त्याग गरेर एसमा गए लगत्तै एसबाट नै बबई गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवार मनोनयन दर्ता गरेका छन् । 

२०४७ सालदेखि नेकपा एकीकृत माक्सवाद, लेनिनवादमा आवद्ध हुँदै आएका वलीले टोल कमिटी हुँदै वडा र २०६७ सालमा साविक पुरन्धारा गाउँ कमिटीको अध्यक्षमा काम गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै २०७१ सालमा क्षेत्रिय सचिवालय सदस्य, २ ०७५ सालमा बबई गाउँपालिकाको संयोजक, २०७५ सालमा एमाले र माओवादी केन्द्र एकतापछि नेकपाको बबई गाउँपालिका पार्टीको अध्यक्ष हुँदै हाल फेरि अधिवेशनमा बबईको अध्यक्षमा रही काम गर्दै आएको पनि उनले जनाएको छन् । 

उनले एमाले पार्टी सर्वहारा, श्रमजीवी वर्गहरूको हितमा नभई दलाल पुँजीपतिहरूको कब्जामा गएकाले एमाले गरिब जनताको पार्टी  कुनै हालतमा  नहुने भएकाले आजको मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस