कतै तामझाम कतै एक्ला एक्लै उम्मेदवारी

दाङ । जिल्लाका दश स्थानीय तहमा कतै गठबन्धनबाट तामझामका साथ र कतै दलहरू एक्ला एक्लै कतै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विषेश चासोको रुपमा हेरिएको जिल्लाका दुई उपमहानगर पालिकामा गठबन्धन दलका साझा उम्मेदवार लगायत अन्य विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले निकै तामझाम गरेर उम्मेदवारी दर्ता गराएका छन् । घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेको हुँदा गठबन्धनले साझा उम्मेदवार हेमराज शर्मा ‘ डाइमन्ड ’लाई मेयर पदमा र २०७४ सालमा कांग्रेसबाट मेयरमा पराजित भएका भूप बहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका उनीहरूले भने स्वच्छ सुन्दर घोराही निर्माणको लागि आफूहरूको उम्मेदवारी रहेको बताए । उनले आफूहरूले घोराहीमा कृषि उत्पादनलाई विशेष ध्यान दिने भन्दै त्यसको बजारीकरण , प्रवर्द्धन गर्ने बताए । उनले घोराहीमा स्वच्छ, सफा खाने पानीको व्यवस्थापन गर्ने, आवश्यक सिँचाइको व्यवस्थापन गर्ने पनि उल्लेख गरे । त्यस्तै स्वास्थ्य, पर्यावरण, शिक्षा लगायतको एजेण्डा आफूहरूका रहेको भन्दै जनतालाई धेरै बाँड्ने आश्वासन दिएर सपना बाँड्ने काम गर्ने पनि उनको भनाइ थियो ।

उनले भने,‘ जनताका समस्यालाई प्राथामिकतामा राखेर काम गर्ने छौँ । जनताले के कुरालाई पहिलो प्राथामिकता दिन्छन् । त्यही समस्यालाई सम्बोधन गर्ने छौँ । त्यो नै हाम्रो तर्फबाट पहिलो विषय हुन्छ ।’ घोराहीमा ठूला पार्टीहरूले मात्र नभइ साना पार्टीहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूको पनि ठुलो दलको जस्तै कुरा छन् । भष्ट्राचार मुक्त समाज र समृद्धि बनाउने सपना रहेको उनीहरूले उम्मेदवारीका क्रममा बताएका छन् ।

केही दिन अगाडि मात्र नेपाली कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेकी सरिता देवकोटा पनि राप्रपाबाट घोराहीमा मेयर पदको उम्मेदवारी दिएकी छन् । उनले पनि लोकतन्त्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई सुदृष्ट गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । त्यस्तै उनले घोराहीलाई घुस मुक्त, भष्ट्राचार मुक्त बनाउने आफ्नो अभियान रहेको पनि बताइन् । २०७४ सालमा घोराही उपमहानगरको मेयर पदमा विजयी भएका नेकपा एमालेका नरुलाल चौधरी यस पटक पनि मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले पनि घोराहीलाई विकास र समृद्धि बनाउनको लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । त्यस्तै उनले आफ्नो ५ वर्षीय कार्यकालमा सुशासन कायम भएको र धेरै कानुनहरू पनि बनाएको भन्दै आगामी दिनमा अझ सुदृष्ट गरेर लैजाने आफ्नो योजना रहेको बताए ।

उनले घोराहीमा विकासका हिसाबले नमुना योग्य काम गरेको पनि बताए । त्यस्तै आफूहरूका अझै धेरै अधुरा कामहरू रहेको र आफू निर्वाचित भएपछि ति कामहरू पुरा गर्ने पनि उल्लेख गरे । घोराहीमा मात्र नभइ तुलसीपुर उपमहानगरका उम्मेदवारहरूको पनि उस्तै सपना रहेको छ । तुलसीपुरलाई नमुना बनाउने । तर, एमालेलेका उम्मेदवारले आफूहरु अहिले नै जितेको भन्दै दाबी गरे । एमालेबाट तुलसीपुरमा उम्मेदवार बनेका टिकाराम खड्काले अहिले नै आफ्नो जित भएको बताए । उनले एक लाख ७ हजार जनता आफ्नो नेतृत्वमा रहेका टिमलाई मतदान गर्न आतुर रहेको र अहिले पनि सबैको साथ पाएकाले आफ्नो जित निश्चित भएको बताए ।

त्यस्तै आफूहरूले तुलसीपुरमा गरिवी हटाउन, तुलसीपुरको समग्र विकासको निम्ति उम्मेदवारी रहेको पनि उल्लेख गरे । उनले आफूहरूलाई जितेमा तुलसीपुर स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार जस्ता कुराको अन्त्य गर्ने र तुलसीपुरलाई सुन्दर शहर बनाउने सपना रहेको पनि बताए ।

तुलसीपुर उपमहानगर गठबन्धन नेपाली कांग्रेसलाई परेको छ । नेपाली कांग्रेसबाट मेयर पदमा उठेका साझा उम्मेदवारले नेपाली कांग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरीले ५ वर्ष एमालेको नेतृत्वमा सरकार हुँदा नागरिकहरूले धेरै समस्या भोगेको भन्दै त्यसको अन्त्य गर्ने बताए । उनले तुलसीपुरमा एमाले नेतृत्व सरकारले ७० करोड भन्दा बढि ऋण तुलसीपुरबासीका नागरिकलाई लगाएको भन्दै त्यसबाट मुक्ति दिलाउन आफ्नो उम्मेदवारी रहेको पनि बताए । त्यस्तै बर्षौदेखि समस्यामा रहेको सुकुम्बासी समस्याको समाधन गठबन्धनबाट बनेको निर्वाचित सरकारले गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस