दाङमा २३७ जनाले गराए उम्मेदवारी दर्ता

दाङ । दाङमा उम्मेदवारी मनोनयनको पहिलो दिन २३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा २३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

२३७ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने बंगलाचुली गाउँपालिकामा कसैले पनि दर्ता गराएका छैनन् ।

सबैभन्दा धेरै उम्मेदवारी मनोनयन दर्ता भएको घोराहीमा मेयरका लागि एक महिलासहित ७ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा पनि एक महिलासहित ४ जनाको उम्मेदवारी परेको छ ।

जसअनुसार मेयर पदका लागि स्वतन्त्रबाट श्रीमानकुमार न्यौपाने र लिलाबहादुर पुनले उम्मेदवारी दिएका हुन् । यसैगरी नेकपा मालेबाट नेत्रप्रसाद पाण्डेय, विवेकशिल साझाबाट सूर्यप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट कल्पना चौधरी, नेपाली कांग्रेस वीपीबाट गोविन्दप्रसाद शर्मा र मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका हुन् ।

घोराहीको उपमेयरमा नेकपा मालेका राधिका क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका निर्मल थापा, विवेकशील साझा पार्टीका लक्ष्मी जीएम र स्वतन्त्रबाट बसन्तकुमारी भट्टाराईले उम्मेदवारी दिएका हुन् ।

यस्तै घोराहीमा वडाध्यक्षका लागि २७ जना पुरुष र २ जना महिला गरी २९ जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा १३, दलित सदस्यमा ८ र सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा २ जना पुरुष र एक जना महिला गरी ३ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने उपमेयरमा दुई जना पुरुषले उम्मेदवारी दिएका छन् । तुलसीपुरको वडाध्यक्षमा १२ जना, महिला सदस्यमा ७ जना र सदस्यमा ११ जनाले उम्मेदवारी दिएका छन् । दलित वडा सदस्यमा आज पहिलो दिन उम्मेवारी नै परेन् ।

यस्तै लमही नगरपालिमा मेयरसँग वडाध्यक्ष र वडा सदस्यका लागि ३ जनाको मात्र उम्मेदवारी परेको छ । राप्तीमा १२, गढवामा ४२, राजपुरमा २४, शान्तिनगरमा ६, बबईमा १५ र दंगीशरणमा १७ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस