निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न दाङका राजनीतिक दल प्रतिवद्ध

दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेका विभिन्न राजनीतिक दलहरू आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् । शनिबार संवाद समूह दाङले तुलसीपुरमा आयोजना गरेको ‘‘ स्थानीय तह निर्वाचन : निर्वाचन आचारसंहिता कार्यान्वयन’’ विषयक कार्यक्रममा दलका नेताहरूले निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, मर्यादित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जारी आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा एमालेका बिनोद शर्मा, नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारी, नेकपा ( एकीकृत समाजवादी ) पार्टीका विष्णु बहादुर थापा, राष्ट्रिय जनमोर्चाका श्यामलाल पोख्रेल, राप्रपाका दीपक केसी, नेकपा बिप्लव नेतृत्वका ईश्वरी प्रसाद पाण्डे र थरुहटका शरण थारू लगायत राजनीतिक दलका नेताहरूले निर्वाचनको लागि बनाइएको आचारसंहिता कार्यान्वयन गर्न र गराउन आफू र आफ्नो पार्टी प्रतिवद्ध हुने बताए ।

उनीहरूले आचारसंहिता समयानुकूल बनाइएकोले कार्यान्वयनका लागि सहज भएको बताए । त्यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता ईश्वरी प्रसाद गैरेले स्थानीय तह निर्वाचन २०७९ मा भाग नलिने बताए । नाटकीय ढंगले एमसिसी परियोजना पास गरेकाले पार्टीले चुनावमा भाग नलिने बताए । उनले आगामी बैशाख १३ गतदेखि १७ गतेसम्म गाउँ गाउँ जाने र निर्वाचनमा भाग नलिन मतदाताहरूलाई आह्वान गर्ने बताए । त्यस्तै कार्यक्रमबाट नेकपा बिप्लप नेतृत्वका ईश्वरी प्रसाद पाण्डेले भने स्थानीय तह निर्वाचनमा पार्टीले भाग लिन लागेको बताए । उनले आम नागरिकहरूको आग्रह र अपेक्षाका कारण पार्टीले चुनावमा भाग लिन थालेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकारी नारायण प्रसाद भण्डारीले निर्वाचन आचारसंहितामा राजनीतिक दलले पालना गर्नुपर्ने व्यवस्थाका बारेमा जानकारी गराएका थिए । उनले कुनै पनि व्यक्ति निर्वाचनमा भाग नलिने, मताधिकार प्रयोग नगर्ने अधिकार रहेको भन्दै तर, राजनीतिक दल वा संघ संस्थाले त्यस किसिमका गतिविधि गर्नु प्रचलित कानुनअनुसार वाञ्छनीय नहुने बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि टङ्क गौतमले आचारसंहिता कार्यान्वयनका लागि ब्यवस्था गरेको ऐन कानूनलाई कार्यान्वयन गर्न निर्वाचन अनुगमन समिति हरदम दृढ रहेको बताए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रले आचारसंहिता उल्लङ्घन हुन नदिने उनको भनाइ थियो । त्यस्तै निर्वाचन शान्तिपूर्ण र मर्यादित तथा विश्वसनीय बनाउन आग्रह गर्दै यदि कतै उल्झन भएको उजुरी र प्रमाणका आधारमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि एवं डीएसपी श्यामु अर्यालले बताए ।

त्यस्तै कार्यक्रममा सहभागि सिमा न्यौपाने, पदमा चौधरी र कमला जिसीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिलाहरूको सहभागिता रहेकोमा यसपटक विभिन्न बहानामा २५ प्रतिशत पनि महिलाको सहभागिता हुन नसक्ने अवस्था सृजना गराइएको भन्दै राजनीतिक दलहरूको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस