लुम्बिनी प्रदेशमा चुनावी तीव्रता : ३२ लाखभन्दा बढी मतदाता, ३ हजार ८ सय ३२ मतदान केन्द्र
दाङ । बैशाख ३० गते हुने पालिकाको चुनावको तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावको तयारीमा जुटेका हुन् । राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त रहेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् । यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
ती मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर त्यहीअनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
१२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरु अहिले चुनावका लागि आवश्यक सामग्रीहरु खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेकोा प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको तयारी अन्तरगत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने कम्प्युटर अप्रेटरको तालिम नेपालगञ्जमा भइरहेको कार्यालयले जनाएको छ ।
चारवटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५ सयले बढी हो ।
यस्तै, दोश्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालको भन्दा ३० हजार ७ सय ८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाताले यस पटकको पालिकाको निर्वाचनमा सहभागिता जनाउँदै छन् ।
प्रदेशमा कृयाशील राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त रहेका छन् । वडा तहबाट सम्भावित उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकेको र माथिल्ला कमिटीहरुले उम्मेदवार छनोट पक्रिया अन्तिम चरणमा पु¥याएको राजनीतिक दलहरुले जनाएका छन् ।