एमालेलाई पत्तासाफ गर्न गठबन्धनः केसी

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनविरुद्ध गठबन्धन बनेको बताएका छन् । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाले शनिबार राप्ती गाउँपालिका २ लालमटिया बजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालेलाई पत्तासाप गर्न गठबन्धन बनेको बताए ।

‘पाँचदलीय गठबन्धन सिध्याउने षड्यन्त्र भइरहेको छ । त्यसका लागि ५ राजनीतिक दल एकताबद्ध भएर लाग्नुको विकल्प छैन’, उनले भने, ‘गणतन्त्र, धर्मनिरपेक्षता रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ ।’ संघीयता खारेजीका लागि अब एक पटक सबै जना उठ्नुपर्ने बेला आएको पनि उनले बताए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली, केन्द्रीय वरिष्ठ उपाध्यक्ष जनकराज शर्मा, जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्यले सम्बोधन गरेका थिए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका उपाध्यक्ष ठाकुर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गिरबहादुर पौडेलले गरेका थिए । यस्तै अध्यक्ष केसीले अहिलेको चुवाव निकै महँगो भएको बताएका छन् ।

राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । अध्यक्ष केसीले सक्षम, योग्य र नेतृत्व गर्न सक्ने क्षमता हुँदाहुँदै पनि महँगो चुनावले गर्दा त्यस्ता व्यक्ति चुनाव लड्नबाट वञ्चित हुनु परेको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस