आधाभन्दा बढी जिल्लाको सकियो मतपत्र छपाइ

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको छपाइ कार्य अन्तिम चरणमा पुर्‍याएको छ। आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्र छापेको छ।

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ। स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले मतपत्र छापेको हो।

सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको हो। स्थानीय तहको निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्। आयोगका प्रवक्ता पौडेलका अनुसार काठमाडौँको ५६ लहरको मतपत्र छ, भने सबैभन्दा सानो डोल्पामा १६ लहरको छ। आयोगले छपाइ गरेका मतपत्रमा निर्वाचन चिन्ह भने हरियो रंग छन्। काठमाडौँ जिल्लामा निर्वाचन भाग लिने दल र जिल्लागत संरचना ४० वटा दलको देखिए पनि आयोगले स्वतन्त्र उम्मेदवार समेतको अनुमानका आधारमा मतपत्रको लहर बढाएर छापेको छ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न ६ प्रकारका मतपत्र थिए। त्यसमा सबभन्दा सानो १८ लहरको र ठूलो ६८ लहरको मतपत्र थियो। स्थानीय तहको निर्वाचनमा ठूलो आकारको र जटिल किसिमको मतपत्रको संरचना र अपर्याप्त मतदाता शिक्षाको कारण बदर मतको प्रतिशतसमेत उच्च थियो। १० प्रतिशतसम्म स्थानीय तहमा मत बदर भएको थियो। देश सञ्चारबाट

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस