माओवादीमा प्रवेश गर्नेहरूकाे लहर, एकैदिन ४० जना प्रवेश

दाङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दाङमा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर बढेको छ । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेर माओबादी प्रबेश गर्नेहरुको लहर बढेको हो । माओवादी दाङले अहिले जिल्लामा प्रवेश अभियान नै सुरु गरेको छ । शुक्रबार मात्रै घोराही उपमहानगरपालिका वडा नम्बर १० बाट ४० जनाभन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा एमाले परित्याग गरी प्रवेश गरेकाहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै शर्माले माओवादी केन्द्रप्रति आम जनताको आकर्षण बढेको बताए । मुलुकको परिवर्तन माओवादी केन्द्रकै योगदानका कारण भएको उल्लेख गर्दै शर्माले अबको समृद्ध मुलुक निर्माण अभियानको नेतृत्व पनि माओवादीले मात्रै गर्नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य धनबहादुर मास्के राजेशले माओवादीले मात्र जनताका एजेण्डा सम्बोधन गर्ने भएकाले आगामी निर्वाचनमा सबै जनताले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । दाङको विकासको समग्र नेतृत्व माओवादीले मात्र गर्न सक्ने भएकाले अन्य दलबाट जनताले अपेक्षा गर्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तुलसीराम डाँगी मिलन, सुशीला शर्मालगायतका नेताहरूको पनि सहभागिता रहेको थियो । यसैगरी घोराही उपमहानगरपालिका वार्ड नं १८ मा नेकपा एमालेका नगर स्तरीय नेतासहित २४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार राति बसेको माओवादी केन्द्र घोराही १८ को वडा कमिटी बैठकले नवप्रवेशीलाई स्वागत गरेको हो ।

माओवादी केन्द्र घोराही १८ का अध्यक्ष सुरश बुढाका अनुसार नेपाली कांग्रेसका विभिन्न पदासिन व्यक्तिहरू तथा नेकपा एमालेका घोराही नगर स्तरीय नेता, युवासङ्घका उपाध्यक्ष धर्मबहादुर श्रेष्ठसहित घोराही १८ का पूर्णबहादुर दमाइ, पट्टे खान, धनबहादुर बिक, विनोद विष्ट, कमल विष्ट रबिन श्रेष्ठ, विनोद विश्वकर्मा, किरण नेपाली, सञ्जय विश्कर्मा, सागर पुन मगर, विष्णु परियार, राम नेपाली, सुपिद सुनार, अर्जुन नेपाली, विष्ने विश्वकर्मा, सुनिल नेपाली, अजय भुसाल, श्याम भुसाल, चित्रबहादुर थापा, निर्मल विश्वकर्मा, निमबहादुर घर्ती, बिक्की वली, कृष्ण सुनार र विजय बिक माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चुनाव नजिकिएसँगै वडा कमिटीले आफ्नो चुनावी अभियान तीव्र रूपमा अघि बढाएको अध्यक्ष बुढाले बताए । पछिल्लो समय १८ नं. वडा माओवादीमय बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस