दाङका प्रमुख राजनीतिक दलद्वारा पाँच बुँदे साझा प्रतिवद्धता
दाङ । स्थानीय निर्वाचन २०७९ को सन्दर्भमा दाङका प्रमुख राजनीतिक दलहरुले पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लास्थित गठबन्धनमा आवद्ध दलहरु र नेकपा एमालेका तर्फबाट आसन्न स्थानीय निर्वाचनलाई सभ्य, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि आज साझा प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जिल्लामा कृयाशिल प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले आगामी निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न निम्न लिखित विषयमा हस्ताक्षर गर्दै यसको कार्यान्वयनका लागि सामुहिक प्रतिवद्धता जाहेर गर्दै हस्ताक्षर पनि गरेका छन् ।
प्रतिद्धतामा आगामी बैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानीय तहको निर्वाचन २०७९ लाई नेपालको संविधान, लोकतन्त्र, मानवअधिकार र समावेशीताको मर्म र भावनालाई आत्मसाथ गर्दै निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्न, आगामी निर्वाचनमा गरिब, विपन्न, पछाडी पारिएका वर्ग, लिंग, जाती, तथा समुदायको समावेशीतालाई सुनिश्चितता गर्दै मुख्य जिम्मेवारी पदहरुमा सहभागिता गराउन, आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छान्दा लोकतन्त्र, मानवअधिकार, सामाजिक प्रतिष्ठा र दलगत योगदान र स्वच्छ छवि भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउन, स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई नकरात्मक रुपमा प्रभाव पार्न र विभिन्न किसिमका प्रलोभन तथा झुठ्ठा आश्वासन नदिन र स्थानीय तहको निर्वाचन दलगत घोषणा पत्रमा गरिव विपन्न, गरिव तथा सिमान्तकृत समुदायका नागरिकका मौलिकहकका विषयवस्तुहरुलाई समावेश गर्दै पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नेहरुमा नेकपा एमालेका विवेक श्रेष्ठ, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादीका गुरुप्रसाद महरा, जनता समाजवादी पार्टीका होमप्रसाद शर्मा र राष्ट्रिय जनमोर्चाका गणेश आचार्य रहेका छन् ।