कांग्रेसबाट शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा रायमाझीको दाबी

दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट श्याम कुमार रायमाझीले प्रमुख दाबेदार रहेको बताएका छन् । आइतबार अनलाइन राप्तीसँग कुरा गर्दै उनले गाउँपालिकाका ७ वटै वडाहरुबाट आफ्नो नाम सिफारिस भएर आएको र आफू लामो समयदेखि सामाजिक क्षेत्र हुँदै राजनीतिमा पनि काम गरेको भन्दै गाउँपालिकाको अध्यक्ष पदको दाबेदार आफू रहेको बताए ।
उनले अध्यक्ष पदको लागि आफूले प्रमुख दाबेदारी गर्नुको प्रमुख कारण सबै वडाहरुबाट नाम सिफारिस हुनु, उम्मेरमा पनि परिपक्वता र बदलिदो परिस्थितिको राजनीतिक अवस्थालाई बुझेका कारणले पनि भएको बताए । उनले २०३६ सालमा नेविसङ्घको सदस्य भएदेखि नै राजनीति शुरु गरेको भन्दै २०५० सालमा नेपाल शिक्षक संघको जिल्ला सदस्य, २०५६ सालमा ट्रेड युनियन कांग्रेसको जिल्ला सदस्य भएर काम गरेको पनि बताए ।
त्यस्तै शिक्षक संघको क्षेत्र सल्लाहकार, ट्रेड युनियन कांग्रेसको तत्कालीन मध्यपश्चिम प्रतिनिधि र पार्टीको १२ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको पनि उनको भनाइ थियो । यसैगरी उनले पार्टीको १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि त्याग गरेर शान्तिनगर २ बाट प्रतिनिधिको लागि सर्वसम्मत छनौट गर्नको लागि भूमिका खेलेको पनि बताए । उनले अधिवेशनमा पार्टीका अन्य साथीहरू विभिन्न भूमिकामा रहेको र आफूले सहमतिलाई प्राथामिकता दिँदा अहिले भूमिका विहीन हुनु परेको अवस्थामा पनि आफ्नो अध्यक्ष पदको लागि दाबेदारी रहेको बताए । त्यस्तै उनले आफू राजनीति क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि करिब २७ वर्ष काम गरेको बताए । उनले मावि भ्युडर सुनपुर र जनकल्याण मावि सिमसुन्दरपुरमा गरि करिब २७ वर्ष अध्यापन गराएको पनि बताए ।त्यस्तै उनले आफूले करिब ७ वर्षसम्म मावि सिमसुन्दरपुरमा प्रधानाध्यापकको जिम्मेवारी पाएर सफलता पूर्वक विद्यालयको विकास गरेको बताए । त्यस्तै अपाङ्गताको क्षेत्र लगायत विभिन्न सामाजिक क्षेत्रमा पनि काम गरेको अनुभव रहेको बताए । उनले भने,‘ पश्चिम क्षेत्रमा पहिलो पटक प्राविधिक शिक्षा लगेको थिए । मेरो कार्यकालमा विद्यालयमा धेरै परिवर्तन भएको थियो । त्यसैले मलाई सामाजिक कार्य गर्नको लागि राम्रो ज्ञान रहेको छ । मैले गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएमा धेरै परिवर्तन गर्न सक्छु । ’ उनले आफू राजनीतिक, सामाजिक क्षेत्रमा मात्र नभइ अहिले प्रविधिको पनि ज्ञान भएका कारण आफूले जिम्मेवारी पाए कुरामा भन्दा काम गरेर देखाउने दाबी गरे ।
उनले भने,‘ हामीले लोकतन्त्र भन्दै आएको छौँ । तर, लोकतान्त्रीक मूल्य मान्यताहरू ह्रास हुँदै गएका छन् । गरिब, अशक्त कम्जोर वर्ग अझै थिचिदै गएका छन् । उनीहरूले लोकतान्त्रीक अभ्यासको प्रत्याभूति गर्न पाएका छैन् । त्यसैले स्थानीय तहको सुशासन प्रत्येकको घरदैलोमा पु–याउने पहिलो एजेण्डा मेरो हुने छ ।’ त्यस्तै विकास निर्माणलाई ठाउँको आवश्यकता अनुसार विकेन्द्रीकरण गरेर काम गर्ने लक्ष्य रहेको पनि उनको भनाइ थियो ।
त्यस्तै न्याय र समानता पनि प्रत्येक ब्यक्तिमा पु–याउने एजेन्डा रहने पनि उनले बताए । त्यसैगरी उनले अहिले गाउँपालिका रहेको ठाउँ सबैलाई पायक नभएको ठाउँमा हुँदा नागरिकहरूले समस्या पाएको भन्दै त्यसको लागि आफूले गाउँपालिकाको नेतृत्व गर्न पाएमा सबैको सहमतिमा सबैलाई पायक पर्ने ठाउँमा स्थापना गर्न भूमिका खेल्न पनि उल्लेख गरे ।